सरकारी अस्पतालकै फार्मेसीमा औषधिको चरम अभाव

१४ बैशाख २०७५, शुक्रबार ०९:३९

वैशाख १४, काठमाडौं ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान) को फार्मेसीमा औषधि अभाव भएपछि बिरामीहरू बाहिर क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य भएका छन् ।

स्वास्थ्य विमा मार्फत निःशुल्क पाउने औषधिहरूसमेत अस्पातलको फार्मेसीमा नपाउँदा विरामी महङ्गो मूल्य तिरेर औषधि किन्न बाध्य भएका छन् । बिरामीका अनुसार अस्पतालमा पछिल्लो २ महिना यता औषधि अभाव भएको हो ।

अस्पतालले भएको औषधि दिँदै नभएको औषधि किन्न बाहिरबाट पठाउने गरेको छ । जसको प्रत्यक्ष मारमा स्वास्थ्य विमा गरेका, असहाय, गरिब र बृद्धबृद्धा परेका छन् ।मृगौलाका बिरामी भएका श्रीमानलाई डाईलाइसिस गराउन अस्पताल आएकी पोखरा ३१ की सावित्री वि.क.ले आधा औषधी मात्रै पाएको गुनासो गरिन् ।

श्रीमान् बाबुराम वि.क.लाई सातामा दुई पटक डाईलाइसिस गर्न ल्याउने गरेको उनको भनाई थियो । ‘हप्तामा दुई पटक डाईलाइसिस गर्न लिएर आउँछु, प्रत्येक पटक कुनै कुनै औषधि छैन भन्दै बाहिर पठाउँछन,’ उनले भनिन्। स्वास्थ्य विमा गराएकी उनले महङ्गो औषधि त झनै नपाइने गुनासो गरिन् ।

उनी मात्रै होइन बिहीबार अस्पतालमा उपचार गरि औषधि किन्न पुगेको पोखरा न्युरोडका हरीस चौधरीले ज्वरोको औषधि समेत अस्पतालमा नपाएको बताए । ज्वरो आएर उपाचारका लागि पुगेका उनले डाक्टरले लेखिदिएका दुई वटा औषधि मध्ये एउटा मात्रै पाएको बताए । उनले ज्वरो आएका बेला खाने औषधि समेत नपाएको बताए ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको फार्मेसीमा १३ सय भन्दा बढी औषधिहरु राखिएका छन् तर यति बेला फार्मेसीका टासिहरु खाली खाली देखिन्छन्। । स्वास्थ्य विमान गरेका बिरामीले ११ सय १८ थरी औषधि निःशुल्क पाउने गरेका छन् ।

नेपालको सार्वजनिक खरिद नियमावलीले औषधि खरिद गर्दा ढिलाई भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक अर्जुन आर्चायले बताए । उनले अस्पतालले औषधिको टेन्डर गरि सकेपछि स्वास्थ्य विमा सञ्चालनमा आएका कारण पनि औषधि अपुग भएको बताए ।

उनले टेन्डर भईसकेकाले एकरदुई दिनमा औषधि आउने दाबी गरे । नेपालमा डाक्टरहरुले बिरामीलाई औषधि सुझाउँदा जेनेरिक अर्थात त्यसमा रहेको रासायनिक मिश्रणको नामबाट नभई ब्राण्ड अर्थात व्यापारिक नाममा लेखिदिने प्रचलन छ तर सरकारी अस्पताल स्वामित्वका औषधि पसलमा धेरै ब्राण्डका औषधी राख्न नसक्दा पनि बिरामीले नै खोजेको औषधि नपाउने गरेको बताए ।