ललितपुर महानगरको जुत्ता बनाउने तालिम सम्पन्न

७ बैशाख २०७५, शुक्रबार १२:२०

सरोज ओझा
वैशाख ७, ललितपुर ।

ललितपुर महानगरपालिका ६ नंवर वडा स्थित कनिबहालमा संचालनमा रहेको श्रृृजनशील महिला सीप विकास केन्द्रको आयोजनामा फाल्गुण १० गते देखी शुरु भएको डेढ महिने निशुल्क मखमली जुत्ता बनाउने तथा एम्ब्रोइडरी तालिम सम्पन्न भएको छ ।

 

स्थानिय महिलाहरुलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने उद्देश्यका साथ ललितपुर महानगरपालिकाको सहयोग माझ संचालित उक्त निशुल्क तालिमबाट २२ जना महिलाहरु प्रशिक्षित भएका छन् । त्यसो त, सो तालिम सम्पन्न भएसंगै चैत्र २७ गते मंगलवार तालिम समापन कार्यक्रमको आयोजना गरिएकोे थियो ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल प्रमुख अतिथी रहेको उक्त कार्यक्रमको अतिथीका रुपमा ललितपुर महानगरपालिका, सामुदायिक शाखाका — प्रमुख प्रेमबहादुर थापा, ज्ञानीशोभा महर्जन र सरिता महर्जन को उपस्थिती रहेको थियो ।

तालिममा प्रशिक्षार्थीको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमको शुरुवाती चरणमा तालिमका प्रशिक्षक समेत रहेका आयोजक संस्था श्रृजनशील महिला सीप विकास केन्द्रका संचालकद्धय दीपा शाक्य र निर्मला शाक्यले मन्तव्य राख्दै महानगरको उद्देश्य अनुरुप नै तालिम संचालन भएको र महानगरले तालिम संचालन गर्ने जिम्मेवारी सुम्पेकोमा धन्यवाद प्रकट गरेका थिए ।

सोही कार्यक्रम माझमा प्रमुख अतिथी सत्यालले तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तत्पश्चात कार्यक्रमलाई संबोधन गर्दै उपमेयर सत्यालले महिलाहरुको आर्थिक अवस्था सुदृढ नभए सम्म उनीहरुको अवस्थामा सुधार नहुने धारणा राख्दै महानगरले महिला सशक्तिकरणका लागि आत्मनिर्भर र स्वाबलम्बी बन्ने सीप प्रदान गरिरहेको बताए ।

आफ्नो पालोमा बोल्ने क्रममा ललितपुर महानगरपालिका, सामुदायिक शाखाका प्रमुख प्रेमबहादुर थापाले प्रशिक्षार्थीहरु तर्फ लक्षित गर्दै तालिम लिएर बस्ने मात्र नभई यसलाई व्यवहारमा लागु गर्नुपर्ने तर्फ जोड दिएका थिए ।