रामेछापको सदरमुकाममा खानेपानीको चरम अभाव

१० बैशाख २०७५, सोमबार ०९:५४

वैशाख १०, काठमाडौं ।

एक हप्तादेखि धारामा पानी नआउँदा रामेछाप सदरमुकाम मन्थलीमा खानेपानीको चरम अभाव भएको छ ।

मन्थली खानेपानी उपभोक्ता समितिले तामाकोसी नदी किनारमा इनार खनी लिफ्टिङ गरेको खानेपानी पानी तान्ने मेसिन बिग्रिएको कारण ६ दिनदेखि बन्द छ ।

यस अघि पनि मेशिनमा समस्या आएको भन्दै मर्मत गरिए पनि पुन मोटरमा समस्या भएको उपभोक्ता समितिले जनाएको छ ।

पानीको चरम अभाव भएपछि सदरमुकाम भित्रका विद्यालय, होटल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई मात्र हैन निजी आवासमा बस्ने सर्वसाधारणलाई समेत समस्यामा परेको छ ।

खानेपानीको विकल्प सदरमुकाम मन्थली आसपासमा कुनै स्रोत नभएपछि मन्थलीका स्थानीयहरु मारमा परेका छन् ।

अहिले स्थानीयहरु रणजोर खोला र तामाकोसी नदी किनारमा रहेका जरुवाहरुमा पानी लिन जाने गरेका छन् ।

खोला र नदी किनारका जरुवाहरुमा बिहान ४ बजेदेखि राति १० बजेसम्म मानिसहरुको भीड लाग्ने गर्छ ।