नेपाल परिवर्तनको लागि शिक्षकको महत्वपूर्ण भूमिका र निर्णायक : दाहाल

१४ बैशाख २०७५, शुक्रबार ०८:२४

वैशाख १४, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको महत्वपूर्ण भूमिका र निर्णायक भएको बताएका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले नेपालको राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको छ बताए ।

अध्यक्ष दाहालले निरङ्कुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकको ठूलो त्याग र बलिदान भएको जनाए । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उनको भनाइ थियो ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९औँ विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

अध्यक्ष दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुशी लागेको बताए । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने “हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।”

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् । खानमले अध्यक्ष दाहाललाइ भनिन्, “हामी सम्पूर्ण शिक्षकका लागि तपाईं आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।” उनले अध्यक्ष प्रचण्डले देखाएको सद्भावप्रति आभार प्रकट पनि गरेको सापकोटाले जानकारी दिए ।

साम्राज्यवाद विरोधी शिक्षकको उक्त संगठनका प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा एकजना नेपालका, तीनजना भारत र दुईजना बंगलादेशका प्रतिनिधि रहेका थिए ।