निर्णायक वार्ता होला त ओली र प्रचण्डबीच ?

१४ बैशाख २०७५, शुक्रबार ०६:३४

वैशाख १४, काठमाडौं ।

पार्टी एकताको बिषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार निर्णायक छलफल हुने भएको छ ।

पार्टीको एकता दुई कम्युनिष्ट प्रक्रियामा गतिरोध उत्पन्न भइरहेको अवस्थामा ओली र प्रचण्डबीच छलफल हुन लागेको हो । दुई अध्यक्षबीच शुक्रवार छलफलको तयारी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

वैशाख ९ मा दुई पार्टीबीच एकता गर्ने भनिएतापनि केही प्राविधिक विषयमा सहमति जुट्न नसकेपछि एकता प्रकृया परसेको नेताहरुले दाबी गरेका थिए ।

वैशाख, ९ मा एकता टरेपछि दुई पार्टीका नेताहरुले परस्पर विपरितका अभिव्यक्ति दिने र एक अर्काप्रति घोचपेच समेत गर्ने गरेका छन् । कार्यकर्तालाई सकारात्मक सन्देश दिन दुई अध्यक्षले एक्ला एक्लै भेटवार्ताको तयारी गर्ने गरेका हुन् ।

बिहीवार रौतहटको कार्यक्रममा प्रचण्डले शुक्रवारसम्ममा पार्टी एकताबारे कुनै निर्णयमा पुगिने बताएका थिए । मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष अ‍ेलीले पनि एकता बारे बोलेका थिए ।

माओवादीसंग केन्द्रीय सदस्यको अनुपात मिल्न बाँकी रहेको संकेत गर्दै ओलीले भनेका थिए, ‘सिमेन्ट, बालुवा र पानीको अनुपात नमिलाइ ढलाइ जम्दैन, त्यस्तै हामीपनि पार्टीको संगठनमा अनुपात मिलाउने काम गरिरहेका छौं’।

एमाले स्रोतका अनुसार सतहमा चुनाव चिन्ह, माओवादीको सशस्त्र ‘जनयुद्ध’ जस्ता प्राविधिक बिषय देखिएपनि एकताका लागि प्रचण्डले महाधिवेशनबाट अध्यक्षको सुनिश्चितता र संसदको यही कार्यकालको पछिल्लो दुई बर्ष प्रधानमन्त्रीको सुनिश्चितता खोजेको बताएको पाइन्छ ।

गत वर्ष २०७४ असोज १७ गते वामपन्थी पार्टी एकता गर्ने भन्दै एमाले र माओवादीले गठबन्धन बनाएर चुनावमा गएका थिए ।