अन्ततः दीपक मनाङे लुकेको ठाउँबाटै पक्राउ

६ बैशाख २०७५, बिहीबार २३:५३

वैशाख ७, काठमार्डौ ।

ज्यान मार्ने उद्योगमा ५ वर्षको सजाय पाएर फरार रहेका गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) अन्ततः बिहीवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मनाङेलाई काठमाडौं स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मनाङे तीनधारा क्षेत्रमा लुकेर बसेका थिए । गत माघदेखि फरार रहेका मनाङेको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस समेत जारी गर्यो । तर एकाएक नयाँ वर्षको दिन मनाङे काठमाडौं आएको सूचना प्राप्त भयो, प्रहरीलार्इ ।

मनाङे आफ्नी श्रीमतीको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दथे । माघदेखि निस्क्रिय रहेको उक्त नम्बर वैशाख १ गते सक्रिय भएपछि प्रहरीले मोबाइल ट्र्याकिङ गर्न शुरु गर्यो । विगत तीन दिनदेखि मोबाइल ट्र्याकिङ गरिरहेको काठमाडौं प्रहरीले अन्नतः बिहीवार दिउँसो मनाङे बस्ने घर पत्ता लगाइ छाड्यो । र बिहीवार साँझ गएर पक्राउ गर्यो ।

गत मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका मनाङे सांसदको सपथ नलिएरै गत माघदेखि फरार थिए ।

सर्वाेच्च अदालतले गत माघमा ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् ।

तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषि ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो ।

३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगन्जस्थित नफाङ रेस्टुरेन्टमा भएको लफडाका कारण मनाङेले अब ३ वर्ष जेलमा बस्नुपर्ने छ । मनाङेले याे मुद्दामा २ वर्ष जेल बिताइसकेका छन् ।

नफाङ रेस्टुरेन्ट गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ र दीपक मनाङेबीच झगडा भएको थियो । झगडाका क्रममा मनाङेले धारिलो हतियार प्रहार गरि चक्रे मिलनको बायाँ हात छिनालेका थिए । सोही घटनामा पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध ५ वर्षको जेल सजाय सुनाएको थियो ।