क्रिकेट संघले विशेष साधारणसभा बोलायो

१६ चैत्र २०७४, शुक्रबार ०८:०२

चैत १६, काठमाडौं ।

क्रिकेट खेलाडीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारी बन्ने बाटो खोलिने भएको छ ।

क्रिकेट संघको विधान संशोधन प्रस्तावमा दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको खेलाडी पदाधिकारीको उम्मेदवार बन्न सक्ने उल्लेख छ ।

क्रिकेट संघमा सक्षम नहुँदा आईसीसीले निलम्बन गर्नेसम्मको अवस्था आएको थुप्रै खेलाडीहरुको गुनासो छ ।

कतिपयले त आफूहरु नेतृत्व गर्न पनि तयार रहेको बताइरहेका बेला आएको संशोधन प्रस्तावलाई अर्थपूर्ण मानिएको छ ।

साधारणसभा

विधान संशोधन गर्न निर्वाचित क्यानले बैशाख ६ र ७ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभामा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)का प्रतिनिधि पनि सहभागी हुनेछन् ।

सल्लाहकार समूहले बनाएको विधानमा निर्वाचित क्यानको साधारणसभाले केही संशोधन गरेपछि क्रिकेट विवाद लम्बिएको थियो ।

अहिले सल्लाहकार समूह र आईसीसी समेत सहमत भएपछि विधान संशोधनको नयाँ प्रस्ताव अघि सारिएको छ ।

स्रोतका अनुसार संशोधित विधानमा खेलाडीले पनि क्यानको सदस्यता लिन सक्ने उल्लेख छ ।

पदाधिकारीको उम्मेदवार हुन भने दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको हुनुपर्छ ।

निर्वाचित क्यानले सन्यास लिएको हुनु पर्ने तर्क गरेको थियो तर, विनोद दास बाहेक अरुले औपचारिक सन्यास नै घोषणा गरेका छैनन् । त्यसैले दुई वर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल नखेलेको भए हुने गरी प्रस्ताव गरिएको छ ।

यदि प्रस्तावित संशोधन हुबहु पाए भएमा २ वर्षदेखि नखेलेका खेलाडी क्रिकेट संघको पदाधिकारीको चुनाव लड्न सक्नेछन् । त्यसका लागि चुनावी साधारणसभामा प्रतिनिधि हुनुपर्छ ।

जिल्ला, प्रदेश संघका साथै क्रिकेट खेलाडी संघबाट पनि प्रतिनिधि बन्न सकिने व्यवस्था छ ।