तस्करीको सुन प्रहरीले नै लुटेको आरोप

१३ चैत्र २०७४, मंगलवार १०:१४

चैत १३, काठमाडौं ।

काठमाडौं प्रहरी परिसर मातहतको महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले छन् ।

उनीहरु गस्ती टोलीमा खटिएका थिए । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले दुई जना सुन लुटपाट गरेको सुराकी पाएपछि उनीहरुमाथि निगरानी बढाएको थियो । र, उनीहरुलाई पक्राउ गरिएको हो ।

‘पीडितले आफ्ना एक जना नजिकका व्यक्तिलाई सुन लुटिएको बताएपछि उनी महानगरीय अपराध महाशाखासम्म पुगेका थिए’, प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि महाशाखा र परिसरले संयुक्त रुपमा कारबाही अघि बढाएको हो ।’

सुन मालिकको खोजी भइरहेको छ भने थप अनुसन्धान जारी रहेको बताइएको छ ।