रसुवागढीलाई काठमाडौं नजिक्याउने सुरुङ बनाउन चिनियाँ कम्पनी इच्छुक

१३ चैत्र २०७४, मंगलवार ०९:०१

चैत १३, काठमाडौं ।

रसुवागढीलाई काठमाडौं नजिक्याउने गरी प्रस्ताव गरिएको टोखा-थानसिङ सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनीहरु इच्छुक देखिएका छन् ।

सुरुङमार्ग निर्माणको मोडालिटी टुंगिन बाँकी रहँदा नै चिनियाँ कम्पनीहरुले परियोजनामा चासो देखाएका हुन् । दर्जन भन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।


सबै कम्पनीले निर्माणको एउटै मोडालिटी प्रस्ताव गरेका छन्, इन्जिनियरिङ प्रक्रिर्याेमेन्ट, कन्ट्रयाक्ट एण्ड फाइनान्सिङ (ईपीसीएफ) मोडेलमा सुरुङमार्ग बनाउने । ईपीसीएफ एउटै कम्पनीले वित्तीय स्रोत जुटाएर आफैंले बनाएपछि हस्तान्तरण गर्ने मोडेल हो । परियोजना बनाएबापत सरकारले लागतअनुसार रकम भुक्तानी गर्नुपर्छ ।

‘यो प्रोजेक्टमा चासो राख्ने कम्पनीहरु लगातार बढिरहेका छन् । तर, कसरी निर्माण गर्ने भन्ने निर्णय नभएसम्म छलफल अघि बढाउन सकिँदैन,’ श्रेष्ठले भने, ‘अब परियोजनालाई अघि बढाउन के-के गर्ने भन्ने अहिलेकै सरकारमा निर्भर हुन्छ ।’

प्रधानमन्त्री हुनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवागढी पुगेर काठमाडौंबाट चार लेनको सडक बनाउने बताएका थिए । सरकारको आगमी नीति तथा कार्यक्रममा यो परियोजना अटाउनेमा सडक विभागमा अधिकारीहरु आशावादी छन् ।

विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेर लगानी जुटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अब निर्माणमा जानुअघि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्छ ।

अहिले प्रस्ताव राख्ने चिनियाँ कम्पनीहरुले आफैंले डीपीआर तयार गर्ने बताएका छन् ।

प्रस्तावित सुरुङमार्गलाई बेत्रावती-मैलुङ-स्याफ्रुबेसी सडकमा जोडिनेछ । यो खण्डमा ट्रयाक खोल्न सेनाले काम गरिरहेको छ । चीन सरकारले पनि स्याफ्रुबेसी-रसुवागढी सडकखण्डलाई दुई लेनमा विस्तार गर्ने गरी डीपीआर बनाइरहेको छ ।