चैत १३, काठमाडौं ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना वितिसकेको भएपनि त्यसको अनुभूति नभएको भन्दै पर्साको बहुदरमाईमा आन्दोलनका लागि संघर्ष समिति गठन गरिएको छ ।
बहुदरमाई संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय पर्सामामा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ । बुधबारदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत समितिले दिएको छ ।
स्थानीय सरकारबाट पाउनुपर्ने सामान्य सेवा सुविधाबाट समेत सर्वसाधरण बञ्चित हुनुपरेको, नेतृत्वले अरुको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति देखिएको र गैरकानुनी रुपमा प्रस्तुत हुने गरेको अरोप संघर्ष समितिको छ ।
उनीहरुले भनेका छन ‘कानुनी पक्रिया पूरा नगरी भएका नियुक्ति, विकास निर्माणमा भइरहको अपारदर्शिता र आर्थिक अपचलन, नगरपालिका कुनै दल विशेषको जस्तो मात्रै ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
नगरपालिकामा नेतृत्वको मनोमानी बढेकोले त्यसको विरोधमा उत्रन संघर्ष समिति गठन गरिएको समितिका संयोजक मोहनप्रसाद यादवले बताए ।
‘नगरपालिकामा विभिन्न किसिमको गलत क्रियाकलापहरु भइरहेको छ । नगरवासी आजित छन्,’ उनले भने ‘स्थानीय जनताको चाहना, विकास र समस्या समाधानको लागि नेतृत्व गम्भीर देखिएको छैन । त्यसैले संघर्ष समिति गठन गरेका छौं ।’
