शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन

१२ चैत्र २०७४, सोमबार ०९:१५

चैत १२, काठमाडौं ।

आफ्नै पार्टीको नेता शिक्षा मन्त्री बनेको बेला ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ । संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबारबाट आमरण अनशन सुरु गर्न लागेको हो ।

कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएको थियो । सोही संशोधनअनुसार शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा सञ्चालनको तयारी गरेको छ ।


परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएकाले आफूहरुले विरोध गरेको नेविसंघ महामन्त्री कुन्दन काफ्लेले बताए ।

‘यो व्यवस्थाबाट टिचिङ लाइसेन्स हातमा लिएर बसेका फ्रेस जनशक्तिलाई अन्याय हुने भयो, राजनीतिक आस्थाको आधारमा जागिर खाइरहेकालाई नै स्थायी गर्ने उद्देश्य विधेयकमा रहेकाले मुख्यगरी त्यसमै हामीले विरोध गरेका हौं,’ काफ्लेले भने ।

अपराह्न चार बजे माइतीघर मण्डलामा नेबिसंघका पाँच जना नेता–कार्यकर्ताले आमरण अनशन सुरु गर्दैछन् । नेविसंघका नेता एवम् त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ सभापति हरि आचार्यले दिएको जानकारीअनुसार राजन लम्साल, मिलन बास्तोला, हेमराज थापा, सुशान्त बोहोरा र रामचन्द्र कार्की आमरण अनशनमा बस्नेछन् ।

शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न माग गर्दै आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारीले यसअघि तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई कार्यकक्षभित्रै कालोमोसो दल्ने प्रयास गरेका थिए ।