प्रदेश ४ मा जमिन बाँझो राख्न नपाइने कानून बन्ने

५ चैत्र २०७४, सोमबार ०९:५२

चैत ५, काठमाडौं ।

प्रदेश ४ का कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्ने बताएका छन् ।

कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालय प्रदेश ४, नेपाल सरकार कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमले सोमबार पोखरामा आयोजना गरेको ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली -नेक्साप) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गाउँ/सहरका कुनैपनि जमिन बाँझो राख्न नपाउने नियम लागू गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

खाद्य सुरक्षाका लागि उत्पादन महत्वपूर्ण पक्ष भएको बताउँदै उनले भने,’खाद्य सुरक्षाका लागि उत्पादन बढाउनुपर्छ, त्यसका लागि जमिन बाँझो राख्न नपाउने नियम बनाउनुपर्छ र त्यसलाई प्रभाकारी कार्यान्वयनमा लैजानुपर्छ ।’

मन्त्री थापाले उत्पादन बढाउनका लागि अब लाखौं युवा कृषक तयार गर्नुपर्ने बताए । उनले भने,’अब लाखौं युवा कृषक तयार गर्नुपर्छ र उनीहरुलाई कृषिमा लाग्नको लागि प्रोत्साहन गर्नुपर्छ ।’

उनले जग्गा चक्लाबन्दी गरेर सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने आवश्यक्ता माथि जोड दिए । उनले भने,’अब जग्गा चक्लाबन्दी गर्नुपर्छ, र दुई सय रोपनी, ५ सय रोपनी, एक हजार रोपनी, २ हजार, ३ हजार, ५ हजार, १० रोपनी जग्गामा सामुहिक खेती गर्ने सहकारी कृषि प्रणाली अवलम्वन गर्नुपर्छ ।’