हुकिङ गरेर विद्युत चोरीको आरोपमा वडा अध्यक्षसहित १९ पक्राउ, ९ हजार रुपैया जरिवाना

२ चैत्र २०७४, शुक्रबार ११:३०

चैत २, काठमाडौं ।

हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा रौतहटका एक वडा अध्यक्ष पक्राउ परेका छन ।

चुहावट नियन्त्रको लागि खटिएको विद्युत प्राधिकरण रौतहट शाखाका कर्मचारी र सुरक्षाकर्मीको टोलीले रौतहटको भीमडावर ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवलाई पक्राउ गरेको हो ।

यादवसहित १९ जनालाई रौतहटको भिमडावर, पथरा, डुमरिया, महम्मदपुर, भसेडवा, पिपरिया, विर्तीबाट पक्राउ गरिएको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।

 

 

भिमडावरबाट वडा अध्यक्ष सहित ६ जना विद्युत चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । पक्राउ परेका वडा अध्यक्षलाई ९ हजार रुपैया जरिवाना तिराइएको छ । विद्युत चोरीको खपत प्रकृति हेरेर सोही यूनिट अनुसार थप गरेर जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ ।

हाल ४७ प्रतिशत विद्युत चुहावट रहेको रौतहटमा हुकिङ गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम प्राधिकरणले एक साता अगाडि बाट सुरु गरेको हो ।

विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोस्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयतामा पक्राउ गरी जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण रौतहट शाखाका प्रमुख उमेश यादवले बताए ।

प्राधिकरणले प्रहरी र स्थानीय प्रशासनको सहयोगमा एक साताको अवधिमा जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ८५ जनालाई पक्राउ गरी ६ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।