शपथग्रहणमा महराको पहिलो पटक दौरा सुरुवाल

२७ फाल्गुन २०७४, आईतवार ०९:५७

फागुन २७, काठमाडौं ।

सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले आइतबार शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन् ।

शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।


सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।

सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ ।

माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।