वीरगञ्जमा विवाह गर्ने एक जोडीलाई प्रशंसा पत्रसहित सम्मान

२५ फाल्गुन २०७४, शुक्रबार ०९:४०

फागुन २५, काठमाडौं ।

दाइजो लेनदेन नगरी विवाह गर्ने एक जोडी वीरगञ्जमा सम्मानित भएका छन् । वीरगञ्जकै एक बैंकमा कार्यरत अलौंका सन्देश प्रसाद र शिक्षण पेशामा आवद्ध चञ्चला कुमारीको जोडीलाई सम्मान गरिएको हो ।

गत माघ २१ गते विवाह गरेका उनीहरुलाई बाल विवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालले प्रशंसा पत्रसहित सम्मान गरेको हो ।

उनीहरुलाई अभियानका राष्ट्रिय संयोजक राजकुमार महतो, प्रादेशिक अभियान संयोजक ललनप्रसाद साह र जिल्ला संयोजक प्रकाशप्रसाद थारुद्वारा हस्ताक्षरित प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

तराई मधेसको समाजमा मोलतोल गरेर दाइजो माग्ने विकृति बढ्दै गएको अवस्थामा उदाहरणीय र आदर्श विवाह गरेकोले उनीहरुलाई सम्मान गरेको अभियानले जनाएको छ ।

सन्देशको बुवा राजशंकर प्रसादले समाजमा दाइजो विकृतिको रुपमा देखिएकोले त्यसको अन्त्य गर्नुपर्छ भन्ने सोचेर दाइजो नमागेको बताए । ‘परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भनेर हामीले एक रुपैयाँ पनि दाइजो मागेनौं’, उनले भने ।

गत साउन १९ गते निधन भएकी आफ्नी श्रीमती सुमित्रा देवीको इच्छा दाइजोबिनै छोराको विवाह गर्ने रहेकाले त्यो पूरा गरेको राजशंकरले बताए ।

दुलाहा सन्देशले परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने सन्देश दिन दाइजौ नलिइ विवाह गर्ने निर्णयमा पुगेको बताए । उनले भने ‘मुखले चाहिँदैन भन्ने तर व्यवहारमा माग्नेहरु पनि छन् ।

दुलही चञ्चलाका बुवा प्रदीप कुमारले केटा पक्षले एक रुपैयाँ पनि दाइजो नमागेको बताए । ‘विवाहको कुरा गर्दा एक रुपैयाँ पनि लेनदेनको कुरा भएन’, उनले भने ‘हामीले आफ्नो गक्ष अनुसार विवाह गर्यौं’, उनले भने ।

चञ्चलाले दाइजोका कारण छोरालाई मात्र प्राथमिकता दिने चलन बढेको समयमा दाइजोबिनै भित्रिन पाउँदा खुशी लागेको बताइन् । ‘वस्तु किनबेच गरे जस्तो मोलतोल गरेर बुहारी भित्र्याउने चलन छ’, उनले भनिन् ।

अभियानका जिल्ला संयोजक प्रकाश थारुले तराई मधेसको समाजमा दाइजो नमागी विवाह गर्नु नमूना काम भएको बताए ।