नविना र राजीवले अखिल र युवा संघ छाड्ने, उक्त स्थानमा क-कस्को दाबी छ ?

२५ फाल्गुन २०७४, शुक्रबार ०९:२२

फागुन २५, काठमाडौं ।

नेकपा एमालेका दुई भातृ संगठन अनेरास्ववियु र युवा संघका अध्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनीहरुको ठाउँमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ ।

 

अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रतिनिधिसभा सदस्य भएपछि आफू संगठनबाट विदा हुने घोषणा गरिसकेकी छन् ।

प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएका युवा संघका अध्यक्ष राजिव पहारी भने मौन छन् । विधानतः युवासंघको महाधिवेशन गर्नुपर्ने अवधि टरिसकेको छ । पहारीले सर्वसम्मति भए नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

  • नविनाको ठाउँमा कस्को दाबी ?

अनेरास्ववियुले फागुनमा विधान सम्मेलन गरेर चैतमा महाधिवेशन गर्ने तयारी थालेकै बेला पार्टीले सबै संगठनका महाधिवेशनहरुमा रोक लगाएपछि नविनाले अध्यक्ष पद हस्तान्तरण गर्ने प्रक्रियाको माग गरेकी छन् ।

आफू सांसद भएलगत्तै केही दिनअघि बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकमा नविनाले संगठनबाट विदा लिने चाहना व्यक्त गरिन् । उनले ०५१ सालमा गुल्मीबाट सांसद जितेपछि अनेरास्ववियुका तत्कालीन अध्यक्ष रामनाथ ढकालले विदा लिएर तत्कालीन महासचिव योगेश भट्टराई अध्यक्ष बनेको नजिर समेत पेश गरेकी छन् ।

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना पार्टी निर्णयका कारण पूरा नभएकाले विधि र प्रक्रिया पूरा गरेर आफूले नयाँलाई नेतृत्व दिन चाहेको लामाले बताइन् । ‘मेरो व्यवस्थापन पार्टीले गरिसकेकाले बिदा लिन खोजेको हो,तर सडकमा कसैलाई नेतृत्व हस्तान्तरण गर्न मिल्दैन,त्यसैले बिधि र प्रक्रियाबाट नयाँ नेतृत्व आउछ’ उनले भनिन् ।

नविनाले यसबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर जानकारी गराउन खोजेकी छन् । अखिल इन्चार्ज रविन्द्र अधिकारीमार्फत आफूले पार्टीमा कुरा पुर्‍याएको लामाले बताइन् । अनेरास्ववियुको महाधिवेशन गर्न नमिलेको र अध्यक्षले विदा लिन खोजेको सन्दर्भमा अधिकारीले पार्टी अध्यक्ष ओलीसँग गत साता छलफल गरेका थिए ।

विद्यार्थी इञ्चार्ज रविन्द्र अधिकारीले पार्टी एकताबाट जनसंगठनहरु पनि एकीकरण नहुन्जेलको लागि के गर्ने भनेर पनि छलफल गरेका थिए । स्रोतका अनुसार ओलीले अहिलेका महासचिव ऐन महरलाई अध्यक्ष बनाउन अधिकारीलाई निर्देशन दिएका छन् । यसअघि उपाध्यक्ष रहिसकेका महरलाई २ वर्षअघि महाधिवेशनको बेला नविनालाई अध्यक्ष बनाउनका लागि महासचिवमा मनाइएको थियो ।

अध्यक्ष बन्नका लागि अहिलेका चारजना उपाध्यक्षले पनि लबिङ तीब्र पारेका छन् । रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेस लामा चारैजना दाबेदार छन् । यी चारैजना उपाध्यक्ष २ वर्षअघि नविना लामाकै प्यानलबाट निर्वाचित भएका हुन् भने महर पनि नविना प्यानलकै हुन् । अध्यक्षबाट सफलतापूर्वक विदा हुन पाउनु आफ्नो लागि सुखद भएको भन्दै नविनाले आफू कसैको पक्ष वा विपक्षमा नरहेको प्रतिक्रिया दिइन् ।

अखिलको अध्यक्षमा सचिव सुदेश पराजुलीले पनि दाबी गरेका छन् । उनी पार्टीभित्र माधव नेपाल समूहका हुन् । अनेरास्ववियुमा माधव नेपाल पक्षका तीन सचिवमात्र छन् । पराजुली, आरती लामा र वसिम आलम बाहेक अरु सबै संस्थापन पक्षका हुन् ।

पराजुलीले अध्यक्षमा दाबी गरेर महासचिव पद सुरक्षित गर्न खोजेको चर्चा छ । पार्टीमा ओली र माधव नेपाल मिलेको बेला नेपाल कोटाबाट उनले महासचिवको दाबी गर्ने सम्भावना छ । महासचिवमा समिक बडालको दावी छ ।

अखिलको अब बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउनेछ । केन्द्रीय कमिटीबाट अध्यक्षको चयन हुने र अरु पदाधिकारीको बारेमा त्यसपछिमात्र छलफल हुनेछ । १५४ सदस्यीय केन्द्रीय कमिटीका ७ जना विदेशमा छन् भने एकजनाको निधन भएको छ । अध्यक्षले बिदा लिएसँगै सचिव,कोषाध्यक्ष र सचिवालय सदस्यहरुले पनि एक तह बढुवाको लागि लबिङ गरिरहेका छन् ।

युवा संघका दाबेदार

प्रदेशसभा सदस्य बनेका युवा संघ अध्यक्ष राजीव पहारीले पनि आफू नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताएका छन् । त्यसका लागि सर्वसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणको वातावरण बनाउन पदाधिकारीहरुसँग छलफल गरिरहेको उनले बताए । पहारी प्रदेश ४ मा प्रदेश सरकारको मन्त्री बन्न पोखरामै लबिङ गरिरहेका छन् ।

सर्वसम्मतको वातावरण नबनाई युवा संघमा नेतृत्व हस्तान्तरण गर्दा विगतमा डेढ वर्षसम्म संगठननै बन्धक भएको भन्दै पहारीले सर्वसम्मतिको वातावरण बनाउन पार्टीले पनि पहाल गरिरहेको बताए । पहारीमाथि महाधिवेशन पनि नगरेको र नेतृत्व हस्तान्तरण गर्न पनि नचाहेको आरोप अरु पदाधिकारीले लगाएका छन् ।

पहारीले भने अहिले पार्टीले नै महाधिवेशन रोकेको बताए । उनले भने-म सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरणको वातावरण बनाउँदैछु, अब युवा संघको नेतृत्व ओगटेर बस्ने रुची छैन ।

युवा संघ अध्यक्षका लागि बरिष्ठतम उपाध्यक्ष दिलु पन्तले दाबी गरेकी छिन् । आफू बरिष्ठ उपाध्यक्ष रहेकाले अध्यक्षको दाबी स्वाभाविकरुपमा रहने पन्तको भनाइ छ । तर, यसबारे अहिलेसम्म बैठक नबसेको र छलफल नै नभएको उनी बताउँछिन् ।

अध्यक्षमा दाबेदारहरुमा पन्तका साथै रमेश पौडेल, किरण पौडेल, नरेश शाही, राजु गुरुङ पनि छन् । रमेश र किरण संस्थापन पक्षका हुन् भने राजु र नरेश माधव नेपाल पक्षका हुन् ।

युवासंघका करीव आधा दर्जन पदाधिकारी जनप्रतिनिधि भइसकेका कारण नेतृत्व पुनर्गठनको माग अन्य पदाधिकारीले गरेका छन् ।

अध्यक्ष पहारी, उपाध्यक्ष चन्द्र लामा प्रदेशसभामा निर्वाचित भएका छन् । त्यस्तै सचिव मञ्जु यादव, सुनिता चौधरी पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

अनुशासन आयोगका अध्यक्ष हिराचन्द्र केसी प्रतिनिधिसभामा निर्वाचित भएका छन् । युवा संघकै सचिव अशोक चन्द कञ्चनपुरको बेदकोट नगरपालिका मेयर र कोषाध्यक्ष हिदम लामा मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।