नेता महरा सभामुखमा एकल उम्मेदवार, कांग्रेसले उम्मेदवारी नदिने

२५ फाल्गुन २०७४, शुक्रबार ०६:५८

फागुन २५, काठमाडौं ।

प्रतिनिधि सभाको सभामुखका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । सभामुखमा उनको एक्लो उम्मेदवारीको सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने बताएपछि महरा एकल उम्मेदवार बन्ने भएका हुन् ।

सभामुखका लागि महरा एकल उम्मेदवार भए शनिवार बस्ने संसदको बैठकले उनलाई सभामुख घोषणा गर्नेछ । एकमात्र उम्मेदवारी परे संसद बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समगर्थन गरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था रहेको संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा भने संसदको बैठकमा मतविभाजन गर्नुपर्ने संवैधानिक व्यबस्था छ । अहिलेसम्म जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा बैठकको अध्यक्षता गरेका छन् ।