दलाई लामाको कार्यक्रम दिल्लीमा नहुने, चीनले के दबाब दियो ?

२४ फाल्गुन २०७४, बिहीबार १०:२१

फागुन २४, काठमाडौं । एजेन्सी

तिब्बती धर्मगुरु दलाई लामा भारतमा निर्वासन भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम दिल्लीबाट धर्मशाला सारिएको छ ।

भारतका विदेशसचिवले मन्त्रिपरिषद् सचिवलाई लेखेको एक पत्रका कारण यसो गरिएको हो । विदेशसचिवले पत्रमा सरकारी कर्मचारी तथा वरिष्ठ नेताहरूलाई कार्यक्रममा भाग नलिनका लागि निर्देशन दिन आग्रह गरेका थिए । यसले चीन तथा भारतबीचको सम्बन्धलाई असर पार्ने उनले लेखेका थिए ।

दिल्लीमा ‘धन्यवाद भारत’ नामक कार्यक्रम ३१ मार्चदेखि १० डिसेम्बरसम्म आयोजना गरिनुपर्ने थियो । तर अब यसलाई धर्मशालातिर सारिएको छ ।

दिल्ली पुगेका केन्द्रीय तिब्बत प्रशासनका अध्यक्ष लोब्साङ सांगेले यो कार्यक्रम धर्मशालामा गरिने पुष्टि गरे ।

तिब्बतको डिपार्टमेन्ट अफ इन्फर्मेसन एन्ड इन्टरनल रिलेसन्स सचिव धर्डोन शर्लिङले भने, ‘हामीलाई कारण त थाहा छैन तर कार्यक्रम चाहिँ दिल्लीबाट धर्मशाला सारिएको छ । यो सानो परिवर्तन हो । भारत सरकार र तिब्बती नेतृत्वबीच सबै कुरा सामान्य छ ।’

यस विषयमा दलाई लामाको कुनै टिप्पणी आएको छैन ।

चीन दलाई लामालाई पृथकतावादी अनि तिब्बत चीनको भाग रहेको मान्यता राख्छ ।