फागुन २४, काठमाडौं । एजेन्सी
उत्तर कोरियाले वार्ताका लागि प्रस्ताव गर्दा त्यसमा कस्तो प्रतिक्रिया दिने भनी अमेरिकाको ट्रम्प प्रशासनले विचार गरिरहेको छ । शीर्ष कोरियाविज्ञहरूले छोडेर गइदिँदा प्योङयाङसँग डील गर्ने अमेरिकाको क्षमतामा ह्रास आएको छ ।
ह्वाइट हाउसले अधिकतम दबाब तथा इन्गेजमेन्ट नीतिअन्तर्गत किम जोङ–उनलाई आणविक हतियार कार्यक्रमको भविष्यका विषयमा वार्ताका लागि बाध्य पार्न प्रतिबन्धहरू लगाएको बताएको छ ।
तर अहिले आएर उत्तर कोरियाका नेताले वार्ताको इच्छा देखाएपछि ट्रम्प प्रशासनले कस्तो प्रतिक्रिया जनाउने हो, त्यो प्रस्ट छैन ।
पूर्वअधिकारीहरूका अनुसार, ट्रम्प प्रशासनले प्रतिबन्धको तयारीका लागि र सैन्य कारबाहीको योजना बनाउन लामो समय खर्च गरेको छ तर प्योङयाङले गम्भीर वार्ता गर्न चाहेमा त्यसका लागि सम्झौताको रणनीति बनाउन खासै समय खर्चेको छैन ।
उत्तर कोरियालीहरूसँग वार्ताका लागि अनुभव बटुलेका अमेरिकी कूटनीतिज्ञ जोसेफ युनले गत शुक्रवार पदबाट राजीनामा दिए अनि सउलमा अहिले अमेरिकाको राजदूत नै छैन । ह्वाइट हाउसले अर्का अनुभवी कूटनीतिज्ञ भिक्टर चाको मनोनयन फिर्ता लिएको थियो र वैकल्पिक उम्मेदवारको घोषणा गरेको छैन ।
युन र चा दुवैजना उत्तर कोरियासँग वार्ताका पक्षपाती थिए र उनीहरूलाई ह्वाइट हाउसले शंकाको दृष्टिले हेर्थ्यो । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले प्योङयाङको आणविक र क्षेप्यास्त्र कार्यक्रमले तेर्स्याएको चुनौतीलाई सैन्य माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।

