उत्तर कोरियाले एक शर्तमा आणविक परीक्षण स्थगित गर्ने

२४ फाल्गुन २०७४, बिहीबार ०९:२६

फागुन २४, काठमाडौं ।

उत्तर कोरियाले आफ्नो सुरक्षाको प्रत्याभूति गरिएमा आणविक परीक्षण रोक्ने सहमति जनाएको दक्षिण कोरियाका सुरक्षा सल्लाहकारले बताएका छन् ।

उत्तरको भ्रमणबाट फर्केर पत्रकार सम्मेलन गरेका चुङ युइ–योङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र उनका दक्षिण कोरियाली समकक्षी मून जे–इनबीच अप्रिल महीनामा ऐतिहासिक बैठक हुने समेत घोषणा गरे ।

दुई नेताबीचको बैठक संयुक्त सुरक्षा क्षेत्र पान्मुनजोममा गरिने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले जनायो ।

प्योङयाङमा चुङ तथा शीर्ष उत्तर कोरियाली नेताहरूबीचको उच्चस्तरीय वार्तापछि यो घोषणा भएको हो ।

‘उत्तरले कोरियाली प्रायद्वीपको गैरआणविकीकरण गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दै किम शासनको सुरक्षाको प्रत्याभूति गरिएमा अनि उत्तर कोरियाविरुद्धको सैन्य चुनौतीलाई हटाइएमा आणविक हतियार राखिरहनुपर्ने कुनै कारण नरहेको बताएको छ,’ चुङले भने ।