विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र पहाडमा थप पाँच विमानस्थल निर्माण हुने : प्रदेश १

२३ फाल्गुन २०७४, बुधबार ११:२१

फागुन २३, काठमाडौं ।

प्रदेश १ सरकारले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्ययोजना सार्वजनिक गरेको छ ।

हाल सञ्चालनमा रहेको विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक जग्गा अधिग्रहण गर्ने प्रदेश सरकारको योजना सार्वजनिक भएको हो ।

विराटनगर विमानस्थलबाट प्रदेश १ का सबै विमानस्थलहरूमा आन्तरिक उडान गराउने कार्यक्रमहरू थालनी गर्ने पनि प्रदेश सरकारले बताएको छ ।


विराटनगर विमानस्थलाई थप व्यस्त बनाउने कार्यक्रम ल्याउँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने, ‘विराटनगर एअरपोर्टबाट हेलिकप्टर सेवा सञ्चालन गर्न नीजि क्षेत्रसँग आवश्यक समन्वय गरिनेछ ।’

त्यसैगरी, इलाम, तेह्रथुम, पाँचथर, धनकुटा, धरान, उदयपुरलगायतका पहाडी क्षेत्रहरूमा ‘सङ्घीय सरकारसँग समन्वय गरी’ थप विमानस्थलहरू निर्माणको सम्भाव्यता अध्ययन कार्यको थालनी गर्ने समेत प्रदेश सरकारले आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मङ्गलवार दिउँसो प्रदेश सरकारका आगामी १०० दिनमा गर्ने विभिन्न नीतीगत तथा व्यवहारिक कार्यक्रमहरू सार्वजनिक गर्दा विमानस्थल निर्माणका योजनाहरू सार्वजनिक भएका हुन ।

विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलनमा हनिमुन अवधि भनिने सरकारका सुरुका १०० दिने कार्यक्रमहरूमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र अन्य थप आन्तरिक विमानस्थलहरू बनाउने कुरा सार्वजनिक भएको हो ।

केही दिन अगाडि विराटनगर विमानस्थल प्रमुख सुरेशमान सिंहले ११५ बिघा जग्गा भएको विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थप ४०० बिगा जग्गा आवश्यक हुने बताएका थिए ।