फागुन २३, काठमाडौं ।
वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा रहेका ३६ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार उनीहरुलाई कार्यालय आसपासबाटै पक्राउ गरेको हो ।
सर्वसाधारणलाई काम गरिदिन्छु भनेर आवश्यकताभन्दा बढी रकम लिएको व्यापक गुनासो आएपछि प्रहरीले छापा मारेको थियो ।
‘श्रम स्वीकृतिका लागि जाने सेवाग्राहीको काम अड्काएर आफूले तिर्नु पर्ने भन्दा धेरै रकम लिने गरेको बारे गुनासो आएपछि हामीले नियन्त्रणमा लिएका हौं’, परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘आफैंले नियम अनुसार गर्छु भन्दा समेत कामै गर्न नसक्ने स्थिति रहेको पीडितहरुको गुनासो छ ।’
प्रहरीले पक्राउ परेकाहरुमाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।
