आउँदो वर्षको फागुनमा नयाँ शक्तिको महाधिवेशन

२१ फाल्गुन २०७४, सोमबार ०८:०६

फागुन २१, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन अर्को वर्ष फागुनमा हुने भएको छ ।

महाधिवेशन आयोजक समितिको बैठकले २०७५ लाई महाधिवेशन बर्ष बनाउने निर्णय गरेको छ ।

आगामी भदौ-असोजमा स्थानीय तह, मंसिर-पुसमा प्रादेशिक र फागुन १०-१५ मा संघीय महाधिवेशन गर्ने निर्णय भएको छ ।

बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी डम्बर खतिवडालाई र केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी राजु नेपाललाई दिने निर्णय गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।

यस्तै, बैठकले सबै प्रदेशमा इन्चार्ज र संयोजक समेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्रकुमार किराँती, संयोजकमा देवराज भण्डारी, प्रदेश २ मा रामरिझन यादव इन्चार्ज र सुशील यादव संयोजक, प्रदेश ३ मा गंगानारायण श्रेष्ठ इन्चार्ज, सोनामसिं स्याङतान संयोजक, प्रदेश ४ मा रुद्रबहादुर गुरुङ इन्चार्ज, देवीप्रसाद सुवेदीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश ५ मा नवराज सुवेदी इन्चार्ज, दानबहादुर चौधरी संयोजक, कर्णाली प्रदेश मा इन्चार्ज सरुण बाठा मगर, संयोजक रामबहादुर बोहरा, प्रदेश ७ मा कृष्णकुमार चौधरी, संयोजकमा प्रकाशबहादुर साउदलाई जिम्मेवारी दिइएको छ ।

प्रवास इन्चार्जको जिम्मा भने हिसिला यमी र संयोजकको जिम्मा धनबहादुर गुरुङलाई दिइएको छ ।