आज संघीय संसदका सदस्यहरुको शपथ

२० फाल्गुन २०७४, आईतवार ०७:४३

फागुन २०, काठमाडौं ।

प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद)का सदस्यहरुले आइतबार शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । ४४ सांसदले १० मातृभाषामा शपथ लिने छन् ।


ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन अगाडि नै शपथ ग्रहण गराउन लागिएको हो ।

प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य महेन्द्रराय यादवले र राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराउनेछन् ।

त्यसअघि राजपा नेता यादव र कांग्रेसकी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

सर्लाही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादव ८० वर्ष र भट्ट ६९ वर्ष रहेको संसद सचिवालयमा अभिलेख छ ।

प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभामा ५९ सदस्यीय छ ।