फागुन १८, काठमाडौं । एजेन्सी
देशको राष्ट्रपति वा प्रधानमन्त्री जस्तो मान्छेले आफ्नै देशको कुनैपनि ठाउँमा जानका लागि अनुमति लिनुपर्दछ भन्ने सुन्दा पत्यार नलाग्न सक्दछ ।
तर छिमेकी मुलुक भारतमा भने केही यस्ता गाउँ छन् जहाँ छिर्नका लागि राष्ट्रपति र प्रधानमन्त्री समेतले अनुमति लिनु पर्दछ ।
यी देशले आफ्नै शासन चलाउँदछन् र गाउँभित्र छिर्नका लागि जुनसुकै मानिसले पनि गाउँ सरकारबाट अनुमति लिनुपर्दछ । गाउँमा अनुमति विना कुनै सरकारी कर्मचारी वा नेताको प्रवेश निषेध छ । एक दुईवटा मात्र कहाँ हो र ? ३४ वटा गाउँमा यस्तो कडा शासन छ ।
भारतको झारखण्डमा यस्ता गाउँ रहेका छन् । त्यहाँका झण्डै ३ दर्जन गाउँको ग्रामसभाले देशको कानून तथा संविधान मान्दैन र आफ्नै गाउँको कानून तथा संविधान बनाएर लागू गरेको छ ।
ग्रामसभाको अनुमति विना देशको राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, राज्यपाल तथा पुलिस अधिकारी वा अरु जुनसुकै सरकारी अधिकारी पनि त्यहाँ छिर्न पाउँदैनन् ।
हरेक गाउँको सिमाना ढुंगाको साँध लगाएर तय गरिएको छ । सबै गाउँले आ आफ्ना सिमाको रक्षा गर्न रक्षक खटाएका हुन्छन् । त्यस्तो साँधलाई पत्थलगडी भनिन्छ । तिनै ढुंगामा गाउँको संविधान पनि लेखिएको हुन्छ ।
आफ्नै शासन लागू गरेका यी गाउँहरु झारखण्डको राजधानी राँची नजिकै पर्दछन् । तर गाउँको त्यो शासन भत्काएर हस्तक्षेप गर्ने हिम्मत सरकारले गर्न सकेको छैन ।
