फागुन १८, काठमाडौं ।
भारतीय अभिनेता सलमान खान ‘द ब्याङ्ग द टुर’का सिलसिलामा फागुन २६ गते नेपाल आउँदैछन् ।
हालै मात्र विप्लव माओवादी निकट एक संगठनले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्तिले धेरैको कान ठाडो भएको छ ।
विज्ञप्तिमा ‘जबरजस्तिरुपमा कार्यक्रम गरिएमा आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने’ उल्लेख छ ।
विज्ञप्तिको असर भारतसम्म पुगेको छ । चर्चित भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन पोर्टलमा यो समाचारलाई महत्वका साथ प्रकाशन गरिएको छ ।
के छ विज्ञप्तिमा ?
विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालीहरु राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना अन्तरगर्न हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तरगतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं ।’
कलाकार हिसाबले सलमान खान नेपाली जनतामा समेत लोकप्रिय रहेको तर त्यसो भन्दैमा उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य नरहेको विज्ञप्तिमा उल्लेख छ । कलाकारको हिसाबमा उनको नेपाल आउजाउमा कुनै अवरोधको नीति नरहेको भन्दै विज्ञप्तिमा प्रतिव्यक्ति ३० हजार रुपैयाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित पार्ने जिकिर गरिएको छ ।
‘विनासकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रुपैयाँ खर्चिनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारको ठूलो अपमान पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यैए माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देहृय नेपालीको पैसा सोहोर्नु हो ।’
साथै नेपाली राजनीतिक दलहरुलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सँधै मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैएनकि मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौं ।

