होली खेल्ने क्रममा छतबाट खसेर बालकको मृत्यु , होलीमा ८१ जना कारवाहीमा परे

१८ फाल्गुन २०७४, शुक्रबार ०९:३७

फागुन १८, काठमाडौं ।

पोखरामा होली खेल्ने क्रममा छतबाट खसेर एक बालकको ज्यान गएको छ ।

हर्सोल्लासपूर्वक होली मनाउने क्रममा पोखरा लेखनाथ महानगरपालिका–२, विन्ध्याबासिनीस्थित आफ्नै घरको छतमा होली खेल्ने क्रममा खसेर स्थानीय रवि रेग्मीका ११ वर्षीय छोरा आविस्कार रेग्मीको ज्यान गएको हो ।

उनी गण्डकी बोर्डिङ स्कुलमा कक्षा ५ अध्ययतरत रहेको बताइएको छ ।

घट्ना अनुसार २ तले घरको छतमा आविस्कार दिदीसँग होली खेलिरहेका थिए । सो क्रममा दिदीले रङ घोलिएको पानी बाल्टिनले खन्याउने क्रममा आविस्कार बाल्टीसँगै छतबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छतबाट खसेर गम्भीर घाइते आविस्कारलाई चिकित्सकले बचाउन सकेनन् ।

  • होलीको दिन ८१ जना कारवाहीमा परे

यसैबीच, होलीको दिन बिहीबार पोखरामा ८१ जना कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष सुरक्षा योजना लागू गर्दै कडाईका साथ चेकिङ गर्दा ५१ वटा सवारीसाधनसहित ८१ जनालाई कारवाही गरेको हो । कारवाहीमा पर्नेमा ६ महिला र ७५ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।