पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ आज पोखरामा हुँदै, प्रतियोगितामा ४ देशका एक दर्जन बढी रेस्लरहरु भिड्ने

१८ फाल्गुन २०७४, शुक्रबार ०८:१३

फागुन १८, काठमाडौं ।

पोखरामा आज अन्तर्राष्ट्रिय रिङ रेस्लिङको महासंग्राम हुँदैछ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आज साँझ ५ः३० बजेदेखि पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा पहिलोपटक अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

डबल एस.प्रा.लि.को ब्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुने प्रतियोगितामा ४ देशका एक दर्जन बढी रेस्लरहरु भिड्ने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।


नयाँ खेलाडी उत्पादन गर्ने र पोखरेलीलाई रेस्लिङको अन्तर्राष्ट्रिय स्तरको मज्जा दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा खेल्ने रिङ र लाइटिङको व्यवस्था हाल सम्मकै उच्च स्तरको रहने आयोजकको दाबी छ ।

आयोजकका अनुसार आज पोखरा रंगशालामा हुने प्रतिष्पर्धामा नेपाल, भारत, रसिया र अमेरीकाका खेलाडी रिङमा उत्रिनेछन् ।

नेपाल रिङ रेस्लिङ संघका अध्यक्ष सुनिता थापाका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील रिङमा उत्रिनेछन् ।

त्यस्तै नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला रेस्लरहरु पनि भिड्ने आयोजकले जनाएको छ । संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा रसियाकी मेफिस्तो तथा साथमा नेपाली महिला रेस्लर दिलासाले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालकी पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदीप पाण्डे रेफ्रीका रुपमा रहने आयोजकले बताएको छ ।

त्यस्तै, प्रतियोगिताको कमनटेटरमा नेपालका प्रसिद्घ र्‍यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कविता गेलाल शर्माको रहने महासचिव श्रेष्ठले बताइन् ।