वीर अस्पताल सार्ने निर्णय तर भवन निर्माणको काम अघि बढ्न सकेन

१३ चैत्र २०७४, मंगलवार ०७:२६

चैत १३, काठमाडौं ।

सरकारले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको दुई वर्ष हुन लाग्यो तर, कुनै काम हुन सकेको छैन ।

आर्थिक वर्ष २०७३/७४ बजेट घोषणाअनुसार ७ फाउन २०७३ मा मन्त्रिपरिषदले वीर अस्पतालका लागि दुवाकोटमा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको थियो । तर, भवन निर्माण अघि बढ्न सकेको छैन ।


करिब २३ अर्ब लागतमा वीर अस्पताललाई भक्तपुरमा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले स्वास्थ्य मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गुरुयोजना पेश गरेको छ ।

सरकारले दातृ निकायको खोजी गरिरहेको छ तर, अहिलेसम्म कसैले पनि लगानीको प्रतिवद्धता जनाएको छैन ।

‘वीरलाई विस्तार गर्न सरकारसित पर्याप्त बजेट छैन । विदेशी सरकार तथा दातृ निकायले पनि बनाइदिन्छु भनेर प्रतिवद्धता जनाएको छैन,’ अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डेले भने ।

न्याम्सले पेश गरेको गुरुयोजनाअनुसार वीर अस्पताललाई दुवाकोटमा करिब २३ अर्ब रुपैयाँ लाग्छ । यसबाट टेण्डर भएको करिब छ वर्षभित्र एक हजार शैय्यासहित वीर अस्पतालका साथै ६/७ वटा कलेज बनाइनेछ ।

अस्पतालका लागि सरकारले करिब सात सय रोपनी जग्गा दिएको छ । तर, बजेट अभावमा जग्गा वरिपरि काँढे तार लगाउने बाहेक अरु काम भएको छैन ।

बजेट अभावमा दुवाकोटमा काम अगाडि बढ्न नसकेको न्याम्सका उपकुलपति डा. गणेशबहादुर गुरुङ्गले बताए ।