माओवादीले पार्टीका तहमा बराबरी हैसियत मागेपछि एकता प्रक्रियामा ब्रेक, ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने

१४ चैत्र २०७४, बुधबार ०९:५५

चैत १४, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण अघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सम्भावना टरेको नेताहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ को अवसरमा समेत पार्टी एकीकरण हुने निश्चित छैन ।

प्रधानमन्त्री ओली २३ चैतमा भारतको तीन दिने राजकीय भ्रमणमा जाने तयारी छ । एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि नै पार्टी एकता गर्न चाहेका थिए ।

तर, माओवादीले पार्टीका सबै तहमा बराबरी हैसियत मागेपछि एकता प्रक्रियामा ब्रेक लागेको छ ।

पार्टी एकताका लागि अन्तरिम बिधान र संगठन एकीकरणको मापदण्ड टुंगो लगाउन बनेको कार्यदलले भने चुनाव चिन्ह बाहेक अन्य विषय टुंगो लगाएर प्रतिवेदन तयार पारिसकेको छ । चुनाव चिन्ह भने सूर्य राख्ने कि अर्को चिन्ह खोज्ने भन्नेमा कार्यदलमा सहमति नभएको कार्यदलमा रहेका एक माओवादी नेताले बताए ।

उनकाअनुसार माओवादी एकीकृत कम्युनिस्ट पार्टीको चुनाव चिन्ह सूर्य नराख्ने पक्षमा छ ।

एमाले सूर्य चिन्ह छाड्ने पक्षमा छैन । एमाले नेताहरुले सूर्य चिन्ह आम जनताबीच लोकपि्रय रहेको र यसअघि गरेको हस्ताक्षर समेत स्मरण गराएका छन् ।

माओवादीले भने कुनै तेस्रो चिन्ह खोज्ने वा सूर्यभित्र हँसिया हथौडा राख्ने प्रस्ताव अघि सारेको छ ।

गत दशैंमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्ने क्रममा माओवाादी सूर्य चिन्हमा सहमत भएको थियो तर, प्राविधिक कारण देखाएर पछि हटेको थियो ।

कार्यदलमा रहेका एमाले उपमहासचिव बिष्णु पौडेलले भने चुनाव चिन्हमा धेरै ठूलो विवाद नरहेको बताए । यसबारे पार्टी एकता संयोजन समितिले निर्णय गर्ने उनले बताए ।

नेताहरुका अनुसार सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिको मस्यौदा माइतीघरको एक घरमा एमालेका बिष्णु पौडेल र माओवादीका जनार्दन शर्माले गरेका थिए, जसमा दुबै पार्टीका ओली र प्रचण्डले हस्ताक्षर समेत गरेका थिए । तर, एक दिनपछि प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्ने सहमतिबाट पछि हटेका थिए ।

एमाले र माओवादीबीच एकीकरणपछि बन्ने नेकपा कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय बन्ने सहमति कार्यदलमा भएको छ ।

नेताहरुका अनुसार पार्टी एकतामा सबैभन्दा पेचिलो बनेेको छ, २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति जना समावेश हुने ।

प्रचण्डले हालैमात्र विद्यार्थीहरुको गोप्य भेलामा बराबरी हैसियतमा मात्र पार्टी एकता हुने बताएपछि यो विवाद सतहमै आएको छ ।

कार्यकाल ५ वर्षसम्म

देशबाट पार्टी कमिटीहरुमध्ये केन्द्रीय कमिटीको कार्यकाल ५ वर्ष तोकिएको छ । हरेक ५ वर्षमा पार्टी महाधिवेशन हुनेछ ।

त्यस्तै प्रदेश कमिटीको अवधि ४ र जिल्ला कमिटीको अवधि ३ वर्षको हुनेछ । स्थानीय तहका कमिटीहरुको कार्यकाल २ वर्ष र वडा कमिटीको १ वर्ष प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी र वडा कमिटी कार्यकारी हुनेछन् । उनीहरुले निश्चित अवधिभित्र अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्नेछ ।

स्थायी कमिटी र पोलिटव्यूरो केन्द्रीय कमिटीले चुन्नेछ । निर्वाचन क्षेत्रीय कमिटीहरु प्रदेश र जिल्ला कमिटीको मातहत रहनेछन् ।

अन्तरिम विधान मस्यौदा कार्यदलले तयार पारेको प्रारम्भिक प्रस्तावमा ढिलोमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ ।