नेपाल टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरू, सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउने

१६ चैत्र २०७४, शुक्रबार ०७:२६

चैत १६, काठमाडौं ।

नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ ।

नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।

टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे ।

अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।

ग्राहकले यसअघि खर्च गरेकाे ब्यालेन्स रकमका अाधारमा ग्राहकलार्इ छुट्टाछुट्टै रकम बराबरकाे सापटी सेवा दिन सुरू गरिएको छ ।

नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ ।

यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।

सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।

ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।

यो सुविधामा ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिएको छ ।

यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।