चीनले सेनाको आधुनिकीकरणका लागि १.११ खर्ब युआन खर्च गर्ने, अमेरिकाले रुससँग नभई चीनसँग संघर्ष गर्नुपर्ने

२४ फाल्गुन २०७४, बिहीबार ०९:३६

फागुन २४, काठमाडौं । बीबीसी

आगामी वर्षका लागि चीनले रक्षा बजेट घोषणा गरेको छ । उसले आफ्नो सेनामा १.११ खर्ब युआन खर्च गर्ने भएको छ ।

भारतको समाचार संस्था पीटीआईका अनुसार, चीनले सेनाको आधुनिकीकरणका लागि भारतले भन्दा तीन गुणा बढी रकम खर्च गर्दैछ ।

भारतले ताजा बजेटमा रक्षा क्षेत्रका लागि ४६ अर्ब डलर छुट्ट्याएको छ । भारतको तुलनामा चीनको रकम निकै ठूलो हो ।

अहिले एक युआनबराबर १०.२६ भारु हुन्छ । यसबाट पनि रकम कति ठूलो हो भनी अन्दाज लगाउन सकिन्छ ।

चीनले पछिल्लो वर्षको तुलनामा रक्षा बजेट आठ प्रतिशतले बढाएको छ । बेइजिङमा चलिरहेको संसद् बैठकमा यसको घोषणा गरिएको हो ।

हालै इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्र्याटेजिक स्टडीज अर्थात् आईआईएसएसका विशेषज्ञहरूले अब अमेरिकाले रुससँग नभई चीनसँग संघर्ष गर्दैछ, विशेषगरी समुद्र र हावामा । चीनको जलसेना र वायुसेनाले अमेरिकालाई टक्कर दिने तयारी गर्दैछ ।

त्यसो त चीनको सेना पहिले पनि संसारको सबभन्दा शक्तिशाली सेनामा समावेश भइसकेको हो ।

विशेषज्ञहरूले चिनियाँ सेनाको आधुनिकीकरण र प्राविधिक दक्षताको कुनै तुलना नै हुन नसक्ने बताएका छन् ।

चीनले लामो दूरीसम्म मार हान्ने क्षेप्यास्त्रदेखि लिएर पाँचौं पुस्ताको लडाकू विमानसम्म तयार पारिसकेको छ ।

चीनले पश्चिमी प्रविधिसँग तुलना हुने हतियारहरूमध्ये ७५ प्रतिशतलाई पश्चिमी देशहरूले भन्दा आधी मूल्यमा बेच्ने दाबी गरेको छ ।

अमेरिकापछि रक्षा बजेटमा सबभन्दा धेरै रकम खर्च गर्ने मुलुक चीन नै हो ।

चीनले थप दुईवटा विमानवाहक युद्धपोत बनाउन लागेको पर्यवेक्षकहरूले बताएका छन् ।

यसबाहेक नयाँ जेट लडाकू विमान र स्टील्थ फाइटर जे–२० पनि उसले सेनाको हतियार भण्डारमा राख्ने भएको छ ।

चीनको सरकारी मिडियाले विगत दुई वर्षमा रक्षा बजेटमा वृद्धिको सिलसिला जारी रहेको बताएको छ ।