घरायसी विवादमा कुटपिट हुँदा १ जनाको मृत्यु

२० फाल्गुन २०७४, आईतवार ०७:१४

फागुन २०, काठमाडौं ।

पर्साको बहुदरामाई नगरपालिका–६, तुराहाटोलमा घरायसी विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ ।

आफन्तबीचमा गोबरको गुँईठाको विषयमा विवाद हुँदा कुटपिटमा स्थानीय ५५ वर्षीय सुकल साह तुराहाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घरायसी विवादमा तुराहाको मृत्यु भएको पुष्टी गरे ।

‘घरायसी विवादमा सामान्य धकेलाधकेल भएछ, सुकल लडेर बेहोस भएछन् । उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको भए पनि चिकित्सकले बचाउन सकेनन्’ प्रहरी उपरीक्षक राजन लिम्बुले भने ।

प्रहरीका अनुसार, सुरुमा महिलाबीच देखिएको गुइँठाको विवाद पुरुष मिसिएपछि साहमाथि कुटपिट भएको थियो । कुटपिटपछि साह घाइते भएका थिए ।

कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले नातामा भतिज पर्ने ४० वर्षीय मोतिलाल साहलाई पक्राउ गरेको छ । प्रहरी चौकी महुवनबाट खटिएका प्रहरी सहायक निरीक्षक लोकनरायण श्रेष्ठ नेतृत्वको टोलीले मोतिलाललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको हो । मोतीलाल पक्षले भने कुटपीट नगरेको दावी गरेका छन् ।

यसैबीच पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले शनिबार राति एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

गाँजा तस्करी गरेको अभियोगमा अदालतबाट फैसला सुनाइएका पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १, कन्चनपुर मुजाहिर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गएराति अन्सारीलाई पक्राउ गरेको हो ।