किन सप्तरीमा १० कक्षाको परीक्षा उत्साह घट्दै छ ?

९ चैत्र २०७४, शुक्रबार ११:२९

चैैत ९, काठमाडौं ।

केही वर्षअघि एसएलसी परीक्षा र एसईई सुरु हुँदा सप्तरीमा एक किसिमको मेला नै लाग्ने गर्‍थ्यो । परीक्षामा विद्यार्थीलाई रेस्टिकेट गर्नुदेखि गार्डलाई निष्कासन गर्नेसम्मको कार्य हुन्थ्यो । तर, यस पटक न कुनै केन्द्रमा मेला नै लाग्यो न त विद्यार्थी र गार्डलाई नै निष्कासित गरियो ।

एसईई परीक्षा बिहीबादेखि प्रारम्भ भएर दुई दिन सकिसकिएको छ । अघिल्ला वर्षहरुमा परीक्षा शुरु भएकै दिन चिट चोरेको भन्दै विद्यार्थीलाई र चोराउन मद्दत गरेको भन्दै गार्डलाई निष्कासित गरिन्थ्यो । ‘तर यस पटक त्यस्तो केही देखिएन’ शिक्षा अधिकारी दोलराज पाण्डेले भने, “लगातार दुई दिन शान्तपूर्ण, व्यवस्थित तरिकाले परीक्षा सम्पन्न भएको छ ।’

पहिलो र दोस्रो दिनको परीक्षामा ३८६ परीक्षार्थी अनुपस्थित हुनुबाहेक परीक्षा मर्यादित रुपमा सम्पन्न भएको उनले बताए । जिल्लाबाट कुल ९ हजार ५९७ जना परीक्षार्थीले परीक्षा दिने भनिएकोमा ३८६ जना अनुपस्थित भएका हुन् ।

परीक्षाका लागि सप्तरीमा ३६ वटा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ७७ वटा सामुदायिक विद्यालय र ४४ वटा नीजि विद्यालयका परीक्षार्थीहरु सहभागी छन् ।