काठमाडौं महानगरमा फेरि ३ सह र १० उपसचिवको दरबन्दी

१५ चैत्र २०७४, बिहीबार १०:२३

चैत १५, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा संघीय सरकारको प्रतिनिधिका रुपमा सचिवलाई नै पठाउने भएको छ ।

मन्त्रिपरिषद्ले पास गरेको स्थानीय तहको कर्मचारी दरबन्दीमा संघीय राजधानी भएको महानगरलाई छुट्टै व्यवस्था गरिएको छ । अरु महानगरमा सहसचिवलाई खटाएको सरकारले काठमाडौं महानगरमा तीन सहसचिवसँगै सचिवलाई पनि खटाउनेछ ।

२०६५ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौं महानगरपालिकामा सचिवलाई कार्यकारी अधिकृत बनाएर पठाइएको थियो । त्यतिबेला कायममुकायम सचिवका रूपमा नारायण मलेगूलाई महानगरमा पठाइएको थियो । त्यसपछि निरञ्जन बराल र आनन्दराज पोखरेल कार्यकारी प्रमुख बने ।

माधवकुमार नेपाल सरकारले सचिवहरूको दरबन्दी कम भएको भन्दै काठमाडौं महानगरबाट सचिव फिर्ता बोलायो ।

त्यसयता सहसचिवलाई सरकारको प्रतिनिधिका रूपमा पठाउँदै महानगरको कार्यकारी अधिकृत बनाएर पठाउने गरिएको थियो ।

तर, अब फेरि सचिव जाने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार काठमाडौं महानगरमा सचिवसहित १४१ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ ।

यो अरु महानगरको तुलानामा यो १० बढी हो ।

काठमाडौं महानगरमा प्रशानसिकतर्फका २ र प्राविधिकतर्फका एक गरी तीन सहसचिव हुनेछन् । यस्तै १० उपसचिव हुनेछन् । जसमा शिक्षा, प्रशासन, कानुन वा नवौं तथा दशौं तहका उपसचिव ७ जना हुनेछन् भने प्राविधिकतर्फबाट कृषि र वन तथा वातावरणका एक-एक उपसचिव हुनेछन् । लेखामा पनि उपसचिव नै हुनेछन् ।

यस्तै नगर प्रहरीको कमाण्ड प्रहरी नायव उपरीक्षक (डीएसपी)ले गर्नेछन् । अहिले पनि यही व्यवस्था छ ।

काठमाडौं महानगरमा ४५ प्राविधिक र ९६ प्रशासनिक कर्मचारीको दरबन्दी हुनेछ । यसमा बारुण यन्त्र, सवारी चालक, कार्यालय सहयोगी लगायत श्रेणिविहीन कर्मचारी समावेश हुने छैनन् ।