एक हप्ताको लागि बन्द फिर्ता : ठोरी सेवा केन्द्र विवाद

२५ फाल्गुन २०७४, शुक्रबार ०९:५५

फागुन २५, काठमाडौं ।

पर्साको ठोरी गाउँपलिकामा झण्डै डेढ महिनादेखि चलिरहेको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

गाउँसभाको माघ १५ को निर्णय खारेजी गरेर मध्य भागमा सेवा केन्द्र हुनुपर्ने माग राखेर आन्दोलनरत ३ न वडाका आन्दोलनकारी र स्थानीय सरकारबीचको वार्तामा कार्यदल बनाउने सहमति भएको छ । सहमति भएसंगै आन्दोलनरत पक्षले एक हप्ताको लागि बन्द फिर्ता लिएका छन् ।


यसअघि नै कालो झन्डा बोकेका दुई पाङ्ग्रे सवारी चल्न दिने निर्णय गरेको संघर्ष समितिले शुक्रबारबाट सबै सवारी साधन चल्न दिने सहमति गरेको छ ।

इलाका प्रहरी कार्यालय, ठोरीमा बिहिबार भएको बैठकले अधिकार सम्पन्न उच्चस्तरीय १३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले आन्दोलनरत पक्षका मागहरूलाई प्याकेजमा समाधान गर्नेसहमति भएको गाउँपालिका प्रवक्ता रामप्रकाश कुवरले जानकारी दिए ।

आन्दोलनरत पक्षका वार्ता टोली संयोजक बालकुमार बस्नेतले सरकार पक्ष कार्यदल बनाउन लचिलो भएपछि वीरगञ्ज–ठोरी सडक खण्डको बन्द १ हप्ताका लागि खोलिएको जानकारी दिए ।

गत माघ १५ गतेको प्रथम गाउँ सभाले ठोरी–४, सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङ डाँडामा सार्ने निर्णय गरेपछि ठोरीमा तनाव बढेको थियो ।