आमिर खान कुनै समय टेनिस खेलाडीदेखि पोस्टर व्वाईसम्म

३० फाल्गुन २०७४, बुधबार ०९:२६

फागुन ३०, काठमाडौं ।

बलिउड अभिनेता आमिर खान आजबाट ५३ वर्ष लागेका छन् । उनको जन्म १४ मार्च १९६५ मा भएको थियो ।

मिस्टर पर्फेसनिस्टका रुपमा चिनिने आमिर खानका फिल्म अन्य कलाकारको भन्दा फरक हुन्छन् । उनको स्वभाव पनि अन्य कलाकारको भन्दा फरक छ ।


बलिउडमा हुने हरेक अवार्ड कार्यक्रममा शाहरुख खान, सलमान खानदेखि सबै कलाकार पुग्छन् तर, आमिर मात्रै त्यस्ता कलाकार हुन् उनी कुनै पनि अवार्ड समारोहमा सहभागी हुँदैनन् । आमिर खान १७ पटक त फिल्मफेयर अवार्डमा मनोनयनमा परेका छन् ।

१९९० मा आमिर खानको फिल्म ‘दिल’ र सन्नी देवलको ‘घायल’ रिलिज भएको थियो । आमिरले सोचेका थिए ‘दिलबाट मैले अवार्ड पाउछु ।’ भयो उल्टो । सन्नी देवलले अवार्ड पाए, आमिर रित्तै । यो घटनामा आमिरले चित्त दुखाए र कसम खाए म कुनै पनि अवार्ड कार्यक्रममा सहभागी हुन्न ।

उनको निक नेम ‘कन्हैयालाल’ हो । यो नाम उनकै परिवारका सदस्यले जुराएका थिए किनकी उनी सानोमा केटी साथीहरुसँग रमाउँथे ।

आमिर नुहाउने मामलामा एकदमै अल्छि छन् । उनी भन्ने गर्छन्, ‘म एकदमै क्लिन छु, त्यसकारण नुहाउन जरुरी छैन ।’ चलचित्र ‘गुलाम’मा काम गर्ने क्रममा आमिरले केही दिनसम्म नुहाएनन् ।

आमिरका बुबा ताहिर हुसेन र आमा जीनत आमिर कलाकार नहोस् भन्ने चाहन्थे । उनीहरुको चाहना थियो छोराले धेरै पढोस् र राम्रो जागिर गरोस । तर, आमिरले हाइस्कुलको पढाईपछि पढ्नै छाडे ।

फिल्ममा आउनुअघि टेनिस प्लेयर

अभिनयमा आउनु अघि आमिर टेनिस प्लेयर थिए । अण्डर-१६ समुहबाट आमिरले राष्ट्रियस्तरमा टेनिस खेलेको थिए ।

आमिरको अभिनय यात्रा ८ वर्षको उमेरमा सुरु भएको थियो । नासिर हुसैनको फिल्म ‘यादो कि बारात’ मा उनले बालकलाकार भएर अभिनय गरेका थिए ।

१९८८ मा आमिरले मन्सुर खानको निर्देशनमा बनेको ‘कयामत से कयामत तक’ मा मुख्य भुमिका निर्वाह गरे । फिल्म सुपरहिट भयो । यो फिल्म निकै कम बजेटमा बनेको थियो । फिल्म रिलिजको बेला आमिर आफैंले अटोरिक्सामा पोस्टर टाँस्दै हिँडेका थिए ।

अहिले आमिर दुई वर्षमा एउटा फिल्ममा काम गर्छन् । कुनै समय यस्तो पनि थियो, वर्षमा पाँचवटासम्म फिल्ममा काम गरे । १९९० मा उनका लभ लभ लभ, अब्वल नम्बर, दिल र जवानी जिन्दावाद रिलिज भएका थिए । दिल बाहेक सबै फिल्म असफल भए । १९९५ मा पनि एउटै वर्ष चार फिल्म बाजी, आतंक ही आतंक, रंगीला, र अकेले हम अकेले तुम रिलिज भएका थिए ।

सन २००३ मा आमिर विवादमा फसे । उनले एउटा ब्लगमा लेखे, ‘शाहरुख मेरो पैताला चाट्दै छन्, म उनलाई बिस्कुट खुवाउदै छु ।’ यो विषयले यति धेरै चर्चा पायो कि अन्तिममा आमिरले सफाई दिनु पर्‍यो । यही घटनापछि शाहरुख र आमिरबीच कोल्डवार सुरु भयो । त्यसपछि शाहरुख र आमिरले एउटै फिल्ममा काम गरेका छैनन् ।

आमिरले दुई पटक बिहे गरेका छन् । आमिरकी पहिलो श्रीमती रीना दत्तसँग १९८६ मा विवाह भएको थियो । ‘लगान’मा काम गर्ने क्रममा किरण रावसँग नजिकिएपछि आमिरले रीनासँग सम्बन्ध बिच्छेद गरेर किरणसँग विवाह गरेका थिए ।