३ शिर्ष पार्टीका अध्यक्षबीच बालुवाटारमा वार्ता, संविधान संशोधन गर्ने सरकारको प्रतिवद्धता

१४ फाल्गुन २०७४, सोमबार ०७:३२

फागुन १४, काठमाडौं ।

एमाले र माओवादीले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् । यससँगै संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा वार्ता भएको छ ।

वार्तामा सरकारले ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

पार्टीमा छलफल गर्ने भन्दै यादव बालुवाटारबाट बाहिरिएका छन् । स्रोतका अनुसार संविधान संशोधनबारे सहमति गरेर फोरम पनि सरकारमा सहभागी हुने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा आए परराष्ट्रमन्त्री दिन सहमत छन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने उनको प्रस्ताव छ ।

बालुवाटार निकट स्रोतले भन्यो, ‘संविधान संशोधनमा सहमति भएसँगै फोरम पनि सरकारमा आउने लगभग पक्का भएको छ । सहमति गर्न भ्याए आजै नभए भोलि सपथ हुनसक्छ ।’

फोरमसँग सहमति गर्न नभ्याए आज एमाले र माओवादीका केही मन्त्रीले भने सपथ लिनेछन् ।