फागुन ११, काठमाडौं ।
तेेह्रथुमको ह्यात्रुङ् झरनाको फेदीमा स्विमिङ पुल बन्ने भएको छ । फेदाप गाँउपालिका-४ र ५ को सिमानामा रहेको झरनाको पूर्वाधार विकास गर्न फेदीमा स्विमिङ पुल निर्माण गर्न लागिएको हो ।
- साथै, हिउँदको समयमा छिपछिपे पानी मात्रै झर्ने ह्यात्रुङ्मा बाह्रै महिना पानी झार्न समेत स्थानीय सक्रिय भएका छन् । उक्त झरना नेपालको सबैभन्दा अग्लो झरना पनि हो ।
३६५ मिटर अग्लो ह्यात्रुङ् झरनामा माघदेखि बैशाखसम्म पानीको मात्रा कम हुने भएकाले बाह्रै महिना पानी झार्ने परियोजना सुरु भइसकेको स्थानीय जनप्रतिनिधि इश्वर खत्रीले बताए ।
ह्यात्रुङ् झरना एकता समाजका सचिव र झरनाछुने वडा नम्बर ४ का वडा सदस्य समेत रहेका खत्रीले स्थानीय तह र झापाको काँकडभिटा कार्यालयले संयुक्त रुपमा ३० लाख छुट्याएको जानकारी दिए ।
स्नीथानीय गौथली र कमेरे खोलाको पानी झरनाको मुलमा पुर्याएर झरनामा बाह्रै महिना झार्ने योजना रहेको खत्रीको भनाइ छ ।
उनले भने ‘झरनाको पानी मज्जाले झर्दा पात छोएर आउँने बाछिटा र पानीको संगीत सुन्दर हुन्छ तर हिउँदको समयमा त्यसो नहुनसक्छ । यही जोगाउन बाह्रैमास बग्ने खोलाको पानी झरनाको मुहानमा लगेर झरनाको सुन्दरता र आकर्षण बाह्रै महिना जोगाउने स्थानीय सरकारको योजना रहेको छ ।’
गाविस भएको अवस्थामा सरसफाइ र बाटो मर्मतका कामहरु मात्रै भएको ह्यात्रुङ् क्षेत्रमा स्थानीय तह बनेपछि भने केही थप परियोजनाहरु बन्न लागेका छन ।
- जसअनुसार ह्यात्रुङ् क्षेत्रलाइ पूर्वी पाहाडको पिकनिक गन्तव्य बनाउने र होमस्टे सञ्चालन गर्ने छलफल पनि सुरु भएको छ ।
मध्यपहाडी राजमार्गबाट ८ किलोमिटरको दुरीमा रहेको ह्यात्रुङ् तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारबाट यातायातको सहायतामा साढे दुई घण्टा र पाँचथरको सदरमुकाम फिदिमबाट ५ घण्टामा ह्यात्रुङ् पुग्न सकिन्छ ।
