फागुन ९, काठमाडौं ।
बुधबार बिहान गुन्डा नाइके मनोज पुन र उनका प्रमुख सहयोगी सोमबहार आले प्रहरी कारबाहीमा मारिए ।
बिहान करिब ३ बजे प्रहरीले देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी र पुनबीच इन्काउन्टर भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त अपरेसनमा पुन र आले मारिए ।
गुन्डा नाइके पुनले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस ०७३ मा गोली प्रहार गरी हत्या गरेका थिए । फरार रहेकै बेला २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेलको पनि हत्या गरे ।
२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीको भनाइ थियो ।
उनै पुन र उनका सहयोगी सार्पसुटर आलेलाई इन्काउन्टर गर्ने रुपन्देही प्रहरीका प्रमुख एसपी श्याम ज्ञवालीले इन्काउन्टर प्रकरणबारे भने :
युवा संघ, रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी, उनका साथी एवं फर्निचर व्यवसायी बलु पौडेल लगायतका घटनामा संलग्न मनोजबहादुर बुढामगरको खोजीमा पहिल्यैदेखि प्रहरी परिचालित भएको थियो । उनी ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।
-
रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली
त्यसैक्रममा बुधबार हामीलाई पुन रुपन्देही छिरेको सूचना प्राप्त भयो । हामीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पनि सहयोग गरिरहेको थियो ।
ट्रेसिङदेखि लिएर अन्य विभिन्न टेक्निकल काममा हामीलाई ब्यूरोले सहयोग गरेको हो । सूचना पाएलगत्तै हामीले खोजतलासलाई व्यापक बनाएका थियौं ।
उनको खोजीका लागि भारतमा रेड कर्नर नोटिस पनि जारी भएको थियो । उनले कहिले आफू भारतमा कहिले मलेसियामा रहेको बताउँदै आएका थिए ।
बिहान करिब तीन/साढे ३ बजेको समयमा हामीले देवदह–४, भवानी भन्ने स्थानमा पल्सर मोटरसाइकलमा उनीहरुलाई फेला पार्यौं । प्रहरीसँग जम्काभेट हुने वित्तिकै उनीहरुले गोली चलाए ।
हाम्रो टोलीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भए । लगत्तै लुम्बिनी अञ्चल अस्पतालमा लगियो । जहाँ चिकित्सकहरुले मृत घोषणा गरे ।
उनीहरुको साथबाट एउटा अटोमेटिक पेस्तोल समेत बरामद भयो ।