दुई वर्षअघि आमा गुमाएका दुई चेपाङ बालकको उद्दार

४ फाल्गुन २०७४, शुक्रबार ०९:४१

फागुन ४, काठमाडौं ।

दुई वर्षअघि आमा गुमाएका चितवन इच्छाकामना गाउँपालिका-३ धुसाका दुई बालकको मानव सेवा आश्रमले उद्दार गरेको छ ।

८ वर्षका सुदीप र ४ वर्षका सन्दीप चेपाङको उद्दार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण बाबु सुकबहादुर चेपाङले हेरचाह र लालनपालन गर्न नसकेपछि आश्रमले उद्दार गरेको हो ।

सुकबहादुरले भने, ‘कमाई छैन दुई जना बच्चालाई पाल्न समस्या छ, विदेश जाउँ भने पनि यिनीहरुलाई कसले हेर्ने भन्ने चिन्ता लाग्छ ।’

अहिले दुई बालकलाई मानव सेवा आश्रम गोरखामा राखिएको छ । उनीहरुको अवस्थाबारे थाहा पाएपछि बुवा सुकबहादुरसहित दुई बालकलाई आश्रमले उद्दार गरेको हो ।

उनीहरुलाई लिन मानव सेवा आश्रम अभिभावक समितिका संयोजक शित्तलकाजी मास्के लगायतको टोली उनीहरुको घरमा नै पुगेको थियो ।

गोरखा स्थायी घर भई हाल काठमाडौ बस्दै आएका अनिल अर्याल सहयोग जुटाउन लागेका छन् । विदेशमा रहेका गोर्खालीहरुसँग आर्थिक सहयोग जुटाउने काम भइरहेको उनले बताए ।

उनले भने , ‘अहिलेसम्म दुई लाख भन्दा बढी रकम उठिसकेको छ, अझै सहयोग गर्छु भन्नेहरु धेरै छन्,’ ।

उक्त रकम उनीहरुको नाममा बैकमा खाता खोलेर जम्मा गरिदिने उनले जानकारी दिए ।