फागुन ४ भित्र मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको आहृवान

२ फाल्गुन २०७४, बुधबार ०९:३१

फागुन २, काठमाडौं ।

प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री चयनका लागि सांसदहरुलाई आहृवान गरेका छन् ।

उनले फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री दावी पेश गर्न प्रदेशसभाका सांसदलाई आहृवान गरेका हुन् ।


बुधबार प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सांसदको समर्थन लिएर मुख्यमन्त्री दावी गर्न आउन सांसदहरुलाई पत्र लेखेका छन् ।

५३ सांसद रहेको प्रदेशसभा ७ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको २५ सिट र नेकपा माओवादी केन्द्रको १४ सिट रहेको छ ।

यी दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

दुई दलको सहमति अनुसार यस प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ ।