फागुन २, काठमाडौं ।
शिवरात्रीको अवसर पारेर पूर्वी नेपालको झापादेखि चलचित्र ‘जय भोले’को छायांकन सुरु गरिएको छ । कमेडी तथा सामाजिक कथामा यो चलचित्र बन्नेछ । अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा चलचित्रको मुहुर्त गरियो ।
करिब एक दशकपछि चलचित्रको निर्देशनमा अशोक शर्मा फर्किएका छन् । उनले ‘मितिनी’पछि चलचित्र निर्देशन गरेका थिएनन् । मंगलबार चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, वुद्दि तामाङले टेक दिएका छन् ।
झापाको शनिश्चरे बजार, शीतलाबस्ती, गैरीगाउँ लगायतका स्थानमा पहिलो दिनको छायांकन गरिएको छ । चलचित्रको छायांकन ४० दिनमा सक्ने योजना बनाइएको छ । दशैंको फूलपातिमा यो चलचित्र रिलिज हुनेछ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ ।
