फागुन १, काठमाडौं ।
टर्कीबाट अपहरणमा परेका ३ नेपाली युवा पाकिस्तानमा फिरौती बुझाएर मुक्त भएका छन् । टर्कीमा बन्धक बनेका नेपालीहरु उनका परिवारजनले करिब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि छुटेका हुन् ।
अपहरणबाट नेपाली युवा मुक्त हुन सफल भए पनि फिरौती तिर्दा लागेको ठूलो रकम डुबेको छ । र, अपहरणकारीहरु समेत जोगिन सफल भएका छन् । अपहरणकारीको पिटाइबाट उनीहरुलाई सामान्य चोटपटक समेत लागेको छ ।

टर्कीमा आफूले रोजगारी गरिरहेकै स्थानबाट अपहरणमा पर्नेहरुमा मोरंगको केराबारी-९ घर भएका किरण मगर, खोटाङको रुपाकोट मझुवागढी ४ घर भएका टीकाराम विश्वकर्मा र ठेगाना नखुलेका टीका लिम्बु छन् ।
१५ दिन अगाडि अपहरणमा परेका उनीहरुलाई अपहरणकारीले फिरौती रकम बुझेपछि मुक्त गरिदिएको र उनीहरु आफ्नो कोठामा फर्किएको पीडितका आफन्तले बताए ।
टर्कीबाट अपहरित किरण मगरकी दिदी मुना मगरले भनिन्, हामीले नेपालबाट फिरौती रकम पाकिस्तान पठाइदिएपछि उनीहरु छुटेका हुन् ।
कसरी भयो ?
किरण र टीकाराम दुवैजना वैदेशिक रोजगारीका लागि टर्की पुगेका थिए । ५ महिनाअघि त्यहाँ पुगेर काम गरिरहेका उनीहरुले पहिलो चरणमा घरमा केही रकमसमेत पठाइसकेका थिए ।
तर, दुवै व्यक्तिलाई केही व्यक्तिले ग्रीसमा राम्रो काम लगाइदिन्छौं र कमाइ पनि बढी हुन्छ भन्दै त्यहाँबाट फकाएर अन्यत्र लगे ।
र, काम लगाउनुको साटो टर्कीकै कुनै भागमा लगेर उनीहरुलाई राखियो । अपहरित व्यक्तिलाई ग्रिसमा राखिएको छ भन्दै अज्ञात स्थलबाट घरमा सम्पर्क गर्न लगाइयो ।
काम लगाइदिने भन्दै केही दिनसम्म कोठामा राखेपछि बल्ल उनीहरुलाई अपहरणमा परेको थाहा भयो । ‘तिमीहरु अपहरणमा परेका छौ, घरबाट प्रतिव्यक्ति ५ हजार डलर मगाएपछि बल्ल छुट्छौ, नभए ज्यान जान सक्छ’ भन्दै अपहरणकारीले धम्की दिएको पीडितको भनाइ छ ।
केस इन्टरपोलमा पुगिसकेको: प्रहरी
यसैवीच, टर्कीमा नेपालीहरुलाई अपहरण गर्ने व्यक्तिहरु चाँडै पक्राउ पर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी) का प्रमुख डीआर्इजी पुष्कर कार्कीले बताए ।
‘यो केस इन्टरपोलमा पुगिसकेको छ,’ कार्कीले भने, टर्कीमै रहेका भए पनि अब ती अपहरणकारीहरु चाँडै पक्राउ पर्छन् । तिनीहरु उम्कने छैनन् ।’
पाकिस्तान प्रहरीमा उजुरी
यसैवीच, अपहरित टीकाराम विश्वकर्माका आफन्तले नेपालमा परराष्ट्र मन्त्रालयमा दिएको उजुरीका आधारमा पाकिस्तानस्थित नेपाली दूतावासले फिरौती ‘रिसिभ’ गर्ने पाकिस्तानीको खोजी सुरु गरेको छ ।
अपहरणकारीले पैसा पठाउन दिएको व्यक्तिको नाम र आइडी नम्बरका आधारमा पाकिस्तान प्रहरीले उनीहरुको खोजी सुरु गरेको र पक्राउ गरी फिरौती रकम फिर्ता गराउने प्रयास गरिरहेको इस्लामावादस्थित नेपाली दूतावास स्रोतले जानकारी दियो ।
स्रोतले भन्यो, ‘हामीले नेपालबाट प्राप्त सूचनाहरु पाकिस्तान प्रहरीलाई दिइसकेका छौं र उनीहरुले अपराधीको खोजी भइरहेको जानकारी दिएका छन् ।’
