मुगुमा हिमपातः कृषक उत्साहित, व्यापारी चिन्तित

१ फाल्गुन २०७४, मंगलवार ०७:०१

फागुन १, काठमाडौं ।

रातिबाट मुगु जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् ।


गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए ।

‘यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,’ छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् ।

सोही नगरपालिका–७ का बैसागे दमाई अहिले परेको हिउँ र पानीले अन्नबाली मात्र नसपारेर सुख्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने र वर्षे बाली लगाउन खेत गरा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफूहरु खुशी भएको बताउँछन् ।

मल्ल र दमाई मात्र होइन आइतबार र सोमबारबाट परेको हिमपातले जिल्लाभरिका कृषक खुशी भएका छन् । हिउँदका महिना सकिन लाग्दा पनि हिउँ र पानी नपरेपछि हिउँदे बालीको आश किसानले मारिसकेका थिए भने वर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै फागुन महिनाको शुरुवातीबाटै वर्षेबाली कोदो, पाखेधान, मकै, आलु, सिमी लगाउन शुरु गर्ने कृषक बताउँछन् ।

हिमपातले कृषकमा खुशियाली ल्याएपछि यहाँका व्यापारी भने धेरै हिउँ परिहाल्छ कि भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्द हुन्छन् कि भनेर व्यापारी चिन्तित भएका हुन् ।

मुगुसँगै हुम्लाका सबै क्षेत्रमा हिमपात भएमा कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी कच्ची सडक बिग्रने र सामान ओसार्न अप्ठ्यारो पर्ने हुनाले व्यापारी अहिलेदेखि नै चिन्तित बनेका हुन् ।

आइतबार रातिदेखि हिउँ परेका जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको खबर आएको छ भने जिल्ला सदरमुकाममा सोमबार दिउँसो १ बजेदेखि हिउँ पर्न शुरु गरेको छ ।

यसैगरी, लगाताररुपमा हिउँ परिरहेकाले आज बिहानसम्म सदरमुकाम सेताम्य बाक्लो हिउँले ढाकिएको सर्वसाधारण बताउँछन् । लगातार हिउँ र पानी पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो ।

यसैबीच, हिमपातका कारणले जीउधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाएर सकभर घरबाहिर ननिस्कन र केही घटना भइहाले जतिसक्दो छिटो प्रहरी प्रशासनमा खबर गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउँछन् ।

हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ ।