केवलकारका लागि खुत्रुके अभियान

२८ माघ २०७४, आईतवार १०:५४

माघ २८, काठमाडौं ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडको पर्यटकीय विकास गर्न केवलकार सञ्चालनका लागि खुत्रुके अभियान सुरु भएको छ ।

आइतवार प्रदेश नंं ७ को प्रादेशिक महोत्सव उद्घाटनको अवसर पारी खप्तड केवलकारका लागि प्रतिव्यक्ति दश रुपैयाँको खुत्रुके अभियान सुरु गरिएको हो ।


डोटी दिपायल सिलगढी नगरपालिकाको ४ नं. वडाका वडाध्यक्ष वीरेन्द्र शाहले उक्त अभियानको थालनी गरेका हुन ।

‘खप्तड क्षेत्रमा केवलकार निर्माण गर्ने भनी सरकारी तथा निजी क्षेत्रबाट पटक पटक छलफल भयो तर कसैले पनि निर्माण कार्यको थालनी गरेन’ वडाध्यक्ष शाहले भने ‘अब हामी आफै खप्तड क्षेत्रमा केबलकार निर्माण गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान थालेका हौं ।’

डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शाहले यो अभियान प्रदेश नं. ७ का सबै जिल्लाहरुमा सञ्चालन गरिने बताए ।

फागुन ९ गतेसम्म चल्ने उक्त महोत्सवमा दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने आयोजक संस्था डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।