प्रदेश ५ मा सरकार गठन प्रक्रिया सुरु, पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न पत्र

२८ माघ २०७४, आईतवार १०:२३

माघ २८, काठमाडौं ।

वाम गठबन्धनले प्रदेश ५ मा सरकार गठनका लागि आफ्नो दाबी पेश गरेका छन् ।

एमाले र माओवादी केन्द्रले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई एमाले प्रदेशसभा संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न अनुरोध गरेका छन् ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरु प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखले नियुक्त गर्नु पर्नेछ ।

पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताए ।

  • सानो मन्त्रिमण्डल गठन हुने : पोखरेल

सरकार गठनको दाबी पेश गरेपछि एमाले नेता एवं मुख्यमन्त्रीका दाबेदार नेता पोखरेलले सभामुखको निर्वाचन अगाडि नैं मुख्यमन्त्रीको शपथ ग्रहण गरी सानो मन्त्रिमण्डल पनि गठन हुने बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा एमाले माओवादी मिलेर सरकार गठन गर्ने बताए ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सांसद छन् । सभामुखको निर्वाचन हुँदैछ ।