माघ २८, काठमाडौं ।
सरकारले हतारमा इम्बोस्ड नम्बरप्लेटको वितरण थाल्दा उपभोक्ताले खर्चिने सवा तीन अर्ब रुपैयाँभन्दा बढी ‘बालुवामा पानी’सरह हुने जोखिम देखिएको छ । करिब साढे १२ लाख सवारीधनीले दोहोर शुल्क तिर्नुपर्ने अवस्था आउने सम्भावना देखिएको हो ।
यातायात व्यवस्था विभागले फागुनदेखि दुईपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडान थाल्दैछ । असारसम्म वागमतीमा दर्ता भएका भएका सबै मोटरसाइकल र स्कुटरका लागि इम्बोस्ड जोड्न आवेदन दिन समय तोकिएको छ ।

त्यसअनुसार अनिवार्य गरिएका वर्गका सबै सवारीले इम्बोस्ड प्लेटका लागि आवेदन दिएमा सरकारले पाँच महिनामा इम्बोस्ड प्लेटबाट सवा तीन अर्ब रुपैयाँभन्दा बढी शुल्क उठाउने छ ।
अहिले नै मागअनुसार इम्बोस्ड जोड्न नसकिरहेको विभागले आवदेन लिने समयसीमा तोक्नुले शुल्क मात्रै उठाउने मनासय प्रष्ट देखिन्छ । प्लेट जोड्नसक्ने क्षमता र संरचना नहुँदा-नहुँदै आवेदन दिन बाध्य पारिनु गलत भएको उपभोक्ताको भनाइ छ ।
विभाग भने तीन वर्षमा २५ लाख इम्बोस्ड नजोडिए ठेकेदारलाई क्षतिपूर्ति तिराउने मनस्थितिमा देखिन्छ ।कसलाई कस्तो प्लेट छ ?
सरकारले अहिले पाँच प्रकारको इम्बोड प्लेट कार्यान्वयनमा ल्याएको छ । राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर दिइएको छ ।
सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर छ भने कूटनीतिक सेतो प्लेटमा नीलो नम्बर छ । निजी सेतो प्लेट र भाडाका सवारीसाधनलाई पहेंलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरिएको छ ।
-
प्रदेशले नाम फेरे फेरि शुल्क
उक्त शुल्क केही समयपछि फेरि उपभोक्ताको टाउकोमा थोपरिने सम्भावना छ । किनभने, प्लेटमा प्रदेशको नाम उल्लेख भएको छैन, नम्बर मात्र लेखिएको छ । र, प्रदेश सरकार र सभाहरुले आफ्नो तय गरे उपभोक्ताले त्यसका लागि फेरि अलग्गै शुल्क तिर्नुपर्नेछ ।
विभागले तीन र चारपांग्रे सवारी साधनमा जोड्न शुरु गरेको नयाँ प्रविधिमा आधारित इम्बोस्ड प्लेटमा सवारीधनी तथा चालकहरुले खासै रुचि देखाएका छैनन् । सरकारले डेढ महिनामा करिब १५ सय चारपांग्रे सवारीमा मात्रै इम्बोस्ड प्लेट जडान गरेको छ ।
फागुनदेखि दुईपांग्रेका लागि पनि इम्बोस्ड प्लेटको जडान शुरु हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले अजानकारी दिए ।
-
बल्ल १५ सयमा जोडियो
विभागले अहिले लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीका लागि इम्बोस्ड जडान गरिरहेको छ । विभागले वागमतीमा दर्ता भएका सबै चारपांग्रेले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड जडान गर्नुपर्ने व्यवस्था गरेको छ । चैतसम्म १२ लटसम्मका एक लाख ६० हजार चारपांग्रे सवारीमा इम्बोस्ड जोडिसक्नुपर्छ ।
-
शूल्क कति ?
अहिले काठमाडौंमा वितरण भइरहेको इम्बोस्डमा वागमतीको ठाउँमा ‘स्टेट-३’ उल्लेख छ । अन्य ठाउँमा वितरण थाल्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर (१,२,४,५,६,७) राखिने छ ।
पहिलो चरणमा तीन र चारपांग्रे साना-ठूला सवारीधनीको मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन बुझिँदैछ । १ फागुनदेखि मोटरसाइकलका लागि पनि आवेदन खुल्नेछ ।
त्यसअघि सवारीका बाँकी कर चुक्ता गरिसक्नुपर्छ । टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ शुल्क लाग्छ । कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकिएको छ । दुईपांग्रेको हकमा २५ सय रुपैयाँ तिर्नुपर्छ ।
शुल्क बुझाएको रसिद नम्बरसहित आफ्नो गाडीका सबै विवरण अनलाइनमा भरेर इम्बोस्डको आवेदन दिन सकिन्छ ।
