वैज्ञानिकले प्रयोगशालामा बनाए मानव अण्डा

२८ माघ २०७४, आईतवार ०८:५०

माघ २८, काठमाडौं । बीबीसी

वैज्ञानिकहरुले प्रयोगशालामा मानव अण्डा बनाएको दाबी गरेका छन् । एडिनबर्ग विश्वविद्यालयका वैज्ञानिकहरुले ल्याबमा मानिसको अण्डा विकसित गरेको दाबी गरेका हुन् ।

सामान्य रुपमा हरेक महिलाले आफु जन्मिँदा नै १० देखि २० लाखसम्म अविकशित डिम्बहरु अण्डासयमा लिएर जन्मिएका हुन्छन् ।

किशोरावस्थामा पुगेपछि यी डिम्बहरु हरेक महिना एक एक गरी विकशित हुन्छन् र मासिक चक्र सुरु हुन्छ ।

वैज्ञानिकको यो सफलतासँगै यी अविकसित अण्डाहरुलाई मानिसको सरीर बाहिर ल्याबमा विकसित गर्न सकिनेछ ।

वैज्ञानिकका अनुसार यो प्रविधि ती महिला तथा बालिकाहरुको लागि आफ्नो डिम्ब बचाउन वरदान सावित हुनसक्छ, जसको क्यान्सरको उपचार चलिरहेको हुन्छ ।

यद्यपि यो प्रविधिको आम रुपमा प्रयोग गर्नुअघि यसमाथि प्रसस्तै काम गर्न बाँकी छ ।

यी अण्डालाई ल्याबमा विकशित गर्नका लागि निकै होसियारी आवश्यकता पर्दछ । यसका लागि अक्सिजन र हर्मोनका अलावा प्रोटिन पनि आवश्यक पर्दछ ।

तरिका यति जटिल छ की अहिलेसम्म केवल १० प्रतिशत अण्डामात्र सफलतापूर्वक विकसित गर्न सकिएको छ । र, विकसित गरिएका अण्डाहरुलाई पनि अहिलेसम्म फर्टिलाइजेसन गरिएको छैन ।

  • क्यान्सरमा सहयोग कसरी गर्नेछ ?

क्यान्सरको उपचारका दौरान गरिने केमोथेरापी तथा रेडियोथेरापीले बाँझोपन ल्याउने खतरा हुन्छ ।

महिलाले उपचार सुरु गर्नुअघि आफ्नो अण्डा फ्रिज गर्न सक्दछन् । यतिसम्म की पाठेघरको भ्रुण समेत ल्याबमा सुरक्षित राख्न सकिन्छ ।

तर क्यान्सरसँग जुधिरहेका बालिकाहरु जसको महिनावारी सुरु भएको हुँदैन, उनीहरुमा विकशित अण्डा वा भ्रुण नै ल्याबमा सुरक्षित राख्ने भन्ने हुँदैन ।

उनीहरुमा अहिले उपचार सुरु हुनुअघि नै अण्डासयको तन्तु काटेर निकाली फ्रिज गर्ने र उपचार पश्चात् पुनः सरीरमा प्रत्यारोपण गर्ने विधि मात्र उपलब्ध छ ।

तर, वैज्ञानिकहरुले विकसित गरेको नयाँ प्रविधिले चाहीँ बालिकाहरुको अण्डासयबाट अविकसित अण्डा निकालेर त्यसलाई ल्याबमा विकसित गराउन सकिनेछ ।

उक्त विकसित अण्डालाई टेष्टट्युबमै गर्भाधान गराउन अब सम्भव हुनेछ ।