माघ २६, काठमाडौं ।
अष्टलक्ष्मी शाक्यले प्रदेश ३ को एमाले संसदीय दलको नेतामा चुनाव हारेसागै संघीयताको अभ्यास गर्दैगर्दा पहिलो महिला मुख्यमन्त्री पाउने अवसर गुमाएको छ ।
सात प्रदेशमध्ये मुख्यमन्त्रीको एकमात्र दाबेदार थिइन् अष्टलक्ष्मी । प्रदेशसभामा चुनाव लडेका र जितेका सबै पार्टीका महिलामध्ये राजनीतिक इतिहास र पदीय जिम्मेवारीका हिसाबले सबैभन्दा सिनियर महिला हुन् उनी । एमालेभित्र त अष्टलक्ष्मी केपी ओली र माधव नेपालहरु सरहको राजनीतिक इतिहास बोकेकी संघर्षशील महिला नेता हुन् । तर पार्टीका शीर्ष नेताले पहल नगर्दा उनी चरम गुटबन्दीको शिकार बनिन् ।
त्यसअर्थमा अष्टलक्ष्मीको पराजय उनको व्यक्तिगत वा एमाले भित्रको एउटा गुटको पराजय मात्र होइन । संघीय गणतन्त्र नेपालले गर्व गर्ने एउटा क्षण गुमाएको छ भने ३३ प्रतिशत संवैधानिक अधिकार पाएका महिलालाई ‘जिरो’मा पुर्याइएको छ ।
-
एमालेले गुमाएको अवसर
चुनावको प्रक्रियामा गएपछि महिला भएकै कारण वा सिनियर नेता भएकै कारण जित्ने आधार र तर्क दुवै हुादैन ।
तर, स्थायी कमिटीले पहिलो पटक संघीयताको अभ्यास गर्न लागेको अवस्थामा दलको नेता चयन गुटको मतका आधारमा होइन जातीय, लंैंगिक र पार्टीभित्रको सन्तुलन मिलाएर गराउन सक्थ्यो । किनकी मुख्यमन्त्री पदमा को आउाछ भन्ने कुरा एमालेको आन्तरिक राजनीतिक सन्तुलनमात्र नभएर दुनियाालाई देखाउने अवसर पनि थियो ।
स्थायी कमिटीमै अष्टलक्ष्मी शाक्यले यो प्रस्ताव पनि राखेकी थिइन् । तर, उनलाई उनकै गुटका नेताले पनि साथ दिएनन् । एक नम्बर प्रदेशमा भीम आचार्यले जित्छु भनिरहेका बेला ३ मा अष्टलक्ष्मीले जित्ने कल्पना गरेर माधव नेपाल लगायतले गुटगत स्वार्थमात्र हेरे ।
तर, गुटबन्दी यति निर्मम होला भन्ने अष्टलक्ष्मीले सोचेकी थिइनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बेलुका बोलाएर चासो राख्दासम्म पनि उनी ढुक्क थिइन् ।
रातभरिमा परिस्थिति उल्टिसकेको थियो । संस्थापन पक्षका महिला सांसद गुटका बफादार सिपाहीमा परिणत भइसकेका थिए । सांसदहरुले गुटको हृवीप शीरोधार्य गरे ।
माधवकुमार नेपाल गुटमा रहेका भनिएका राजेन्द्र पाण्डेहरुले अन्तिममा डोरमणि पौडेललाई मत दिए । महिला र नेवारको मत अष्टलक्ष्मीले पाउलिन् भन्ने अनुमान पनि हावादारी साबित भयो । एमालेका कमरेडहरु जात, वर्ग र लिंगमाथि उठेर मतदानको लाइनमा उभिएपछि दलको नेताको चुनावमा उनको पराजय निश्चित भइसकेको थियो ।
-
अष्टलक्ष्मीको इतिहासको अवमूल्यन
प्रदेश ३ मा एमालेकी अष्टलक्ष्मी सबैभन्दा सिनियर नेता हुन् । पार्टी उपाध्यक्ष र प्रदेश संयोजक भएका कारणमात्र उनी सिनियर होइनन् । २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी काठमाडौंको परम्परागत व्यापारिक नेवार घरानाकी शाक्य २०३६ सालदेखि सबै सुखसयल त्यागेर भूमिगत राजनीतिमा लागेका थिइन् । उनी सिन्धुपाल्चोकको पिस्करदेखि जनआन्दोलनताका झापासम्म राजनीतिक काममा थिइन् ।
अष्टलक्ष्मीले मुख्यमन्त्री होइन, प्रधानमन्त्री बन्ने योग्यता बनाइसकेकी हुन् । २०४९ सालदेखि निरन्तर एमाले केन्द्रीय कमिटीमा रहेकी शाक्य त्यस्तो महिला हुन्, जसले मन्त्री पद पाउादा पनि अरुलाई अवसर दिनुपर्छ भनेर त्याग गरिन् । सुशील कोइराला प्रधानमन्त्री हुादा एमालेले उनलाई मन्त्री बनाएको थियो तर, उनले शान्ता मानवीका लागि बाटो खुला गरिन् । यसपटक पनि उनी प्रतिनिधिसभाको उम्मेदवार बन्न सक्थिन् तर, पार्टीका नेताहरुकै सल्लाहमा मुख्यमन्त्री बन्ने गरी प्रदेशसभामा गइन् ।
अष्टलक्ष्मीले चुनाव हारे लगत्तै कुराकानीमा अध्यक्ष केपी ओलीले आफूलाई छक्याएको र चरम गुटबन्दीको शिकार भएको प्रतिक्रिया दिएकी छन् ।
-
प्रष्ट हुन जरुरी छ
अष्टलक्ष्मी शाक्य महिला भएकै कारण वा जनजाति महिला भएकै कारण हारेकी भने होइनन् । विशुद्ध गुटबन्दीका कारण मात्र हारेकी हुन् । किनकी उनलाई हराउनेहरु महिला र नेवार नै हुन् भन्दा फरक पर्दैन ।

